म्युजिक भिडियोमा पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ सार्वजनिक

२०८० जेठ १८ बिहीबार १६:३३:०० मा प्रकाशित

‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 
बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् । 
यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । मुस्ताङको सुन्दर लोकेसनमा भिडियो खिचिएको हो । 
यो गीतमा टिका बम्जनको शब्द एवं संगीत छ भने हिमाल सागर र अनु चौधरीले यसमा स्वर दिएका छन् । गीतलाई शहस शाक्यले एरेन्ज गरेका हुन् । 
शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ । बिदुर सिग्देल निर्माता रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन, सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 
ओएसआर डिटिजलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।