दुई घण्टा हिँडेर खानेपानी ल्याउँछौँ

२०८० जेठ १७ बुधबार १६:०३:०० मा प्रकाशित


गैँडाकोट । ५३ बर्षीया जमुना गुरुङ बिहान सबेरै उठेर जङ्गलको बीचमा रहेको मुहानमा पानी लिन पुग्छिन् । मुहानमा पुग्न १० मिनेटको ओरालो झर्नुपर्छ । ओरालोमा कहिले लडिन्छ । डोकोमा गाग्री अनि झोलाभरी बोतलमा पानी राखेर गुरुङ घर फर्किन्छिन् । लौरीको सहायतामा रुखका जराहरु समाउँदै हिँड्नुपर्ने गुरुङको दैनिकी हो । उनी भन्छिन्, “घरमा पानीको धारा छ तर धारा भएर के गर्ने पानी छैन । पानी लिन टाढा जङ्गलको बीचमा जानुपर्छ । सिधै ओरालो छ नानी कहिले काही त लडिन्छ । म त लडेको पनि छु ।” उनले थप्दै भनिन्, “अहिले त पानी नपरेको भएर हिँड्न अल्लि सजिलो छ । बर्खामा त झन कत्ती गाह्रो हुन्छ ।”


दिउँसोको १२ बजे गुरुङ खानेपानी लिन घण्टौ लगाएर मुहानसम्म पुगेकी थिइन् । बिहान सबेरै उठ्ने अनी गाउँको आफ्नो दौतरीसँग मिलेर पानी लिन आउने गरेको उनको भनाई थियो । उनलाई घरकै धारामा पानी आएको हेर्ने ठुलो रहर छ । धारामा पानी आएको दिन चुड्का गीत गाएर नाच्ने मन छ । कुराकनीको सिलसिलामा हास्दै गफ गरेकी गुरुङ्गले पिडा व्यक्त गरिन् । पानी नभएकै कारण गाईभैसी पाल्न नपाएको उनको दुखेसो छ । बारीमा लगाएको मकै पनि सिँचाइको अभावमा सुकेका छन् ।   

 
गैँडाकोट ३ ढोडेनी जहाँ सबैको घरमा खानेपानीको पाइप पुगेको छ । तर पानी पुगेको छैन । बिहान ७ बजे खानेपानी लिन मुहानमा पुग्ने सरस्वती आचार्य घर फर्किदा १० बज्छ । २ घण्टा लगाएर ल्याएको पानीले दिनभरी पु¥याउनु पर्छ । बर्खामा त यही पानी पनि धमिलो हुन्छ । बाटो चिप्लो भएर हिँड्न मिल्दैन ।

 

उनी भन्छिन्, “बिहान घरको काम सकेर भुराहरुलाई लिएर मुहान जान्छु, पानी लिएर फर्किदा १० बज्छ । अनी खाना खाएर काममा जान्छु । कालीगण्डकीको तिरमा पुग्नु पर्छ पानी लिन । बाटो लामो छ । भिरको बाटो हिड्नै समस्या छ ।” बर्षौदेखी पानीको समस्या भोग्दै आएकी उनलाई अब पनि धारामा पानी आउँछ भन्ने लागेको छैन् । उनले दुःख गर्ने बानी लागेको सुुनाईन् । बर्खामा त यहीँ पानी पनि धमिलो हुने गरेको उनको भनाई छ ।   


सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट बञ्चित भएको गुनासो नागरिकको छ ।
पानी अभावका कारण न यहाँ खेती हुन सकेको छ । न त स्थानीयले गाईवस्तु पाल्न सकेका छन् । खानेपानी संस्थालाई न्यूनतम शुल्क त तिर्छन् तर पानी भने धारामा आउँदैन । स्थानीय विष्णुहरी अधिकारीले खानेपानी संस्थालाई ८० रुपैयाँ तिरेको बताए । उनले अहिले ट्याङ्करको पानी किनेर गाईवस्तु र कुखुरालाई खुवाएको बताए । उनी भन्छन्, “वडामा खानेपानी ट्याङ्की बनेको बर्षौ भयो । खै के भएर हो पानी आएको छैन् । अरुले सुरक्षित पानी बन्छन् हामीले राम्रोसँग पानी पनि उपभोग गर्न पाएको छैन् । फिल्टर त परको कुरा हामीले मुहानको पानी सिधै प्रयोग गर्नुपरेको छ ।” वडा अध्यक्षले पनि यसको लागि त काम गरेको तर पानी नआएको उनको भनाई थियो । 


ढोडेनी खानेपानी आयोजना निर्माण हुन लागेको तीन वर्ष बढी भयो । एकलाख २० हजार लिटरको ओभरहेड ट्यांकी, ४० हजार लिटरको ट्यांकी निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै दुई वटा छुट्टा छुट्टै टोलमा २०–२० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । लिफ्टिङ्ग प्रणालीमा विद्युत आपुर्ती, ट्यांकीसम्म जाने पाइप विस्तार र वितरण लाइनका पाइप विस्तार गर्ने काम भने अधुरो रहेको छ । रकम अभावका कारण अहिले सबै काम रोकिएको छ ।


यसको जिम्मा पाएको कृपा कन्स्ट्रक्सनको ठेकेदार पनि सम्पर्क विहिन छन् । ढोडेनी खानेपानीका अध्यक्ष टोलनाथ आले (टि.एन.आले) ले खानेपानीको लागि वडा, स्थानीय सरकार, प्रदेश सरकार कुनै पनि सरकारले चासो नदिएको गुनासो गरे । बनाउन लागेको आयोजना पुरा गर्न पैसा माग्न जाँदा सबैले केन्द्रबाट पैसा आएको छैन् भन्दै पठाउने गरेको दुखेसो छ । काम गरेको पैसा नपाएकै कारण ठेकेदार पनि सम्पर्कमा नआएको बताउँदै उनले समस्या समाधानमा कसैले चासो नदिएको सुनाए । उनी भन्छन्, “हाम्रो वडाको खानेपानी समस्या समाधानमा कसैले चासो दिदैन । यो चिल्लो रोड चाहिदैन बरु हामीलाई । किन यसमा खर्च गरेको । हामीलाई पानी कहिले दिने सरकारले । हामीलाई पानी दिनु पर्दैन । पानी देउ पहिला ।” 


प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले करिब ७ करोडको लागत अनुमान सहित काम सुरुभएको र बाँकी रकम आउन नसक्दा काम हुन नसकेको बताए । आयोजना छिटो सम्पन्न गर्न वडाबाट पनि संयोजन भएको उनको भनाई छ । उनी भन्छन्, “प्रदेशस्तर बाट काम भएको छ । बजेट अभाव भएका कारण अहिले काम रोकीएको छ, यसमा हामीले पनि पहल गरेका छौँ ।” उनले थपे, “पोखरा गएर डेलिगेशन गर्ने काम भएको छ । अबको आर्थिक वर्षमा अवश्यक बजेट पार्न कोशिस गर्ने छौँ । नगरबाट पनि बजेट पारेर भएपनि काम गर्छौ ।”  
आर्थिक वर्ष २०७९÷०८० मा २१ लाख पेस्की तिर्ने र १५ लाखको काम भएको डिभिजन खानेपानी आयोजना तनहुँले जानकारी दिएको छ । डिभिजन खानेपानी तनहुँका प्रमुख राजेन्द्र न्यौपानले करिब ७०–८० लाख भएमा काम सम्पन्न हुने बताए । उनले सरकारले आवश्यक बजेट नपठाएको कारण काम नभएको बताए । 


ढोडेनी खानेपानी आयोजना सम्पन्न हँुदा ४५० घरधुरीले सुरक्षित पानी उपभोग गर्न पाउने छन् । सरकारले दुई वर्षमा सबैको घरमा धारा पुराउने नीति बनाएको छ । तर यता धारा पुगेको ठाउँमा पनि पानी पुग्न सकेको छैन् । सडक र भवन निमार्णमा मात्र होइन राज्यले नागरिकको आधारभूत आवश्यकता पुरा गर्न पहिला चासो दिनुपर्छ । विजय खबर पत्रिकाबाट सभार