नातावादको आरोप लागेपछि रुविले भनिन्, ‘प्रसिद्धीले मिहिनेतले उपाधि जितेकी हो’

२०८० जेठ १६ मंगलबार १२:५६:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगिताको निष्पक्षता माथि सधैँ प्रश्न उठ्ने गरेको छ । कतिपयले त सौन्दर्य प्रतियोगितामा ‘नेपोटिजम’ (नातावाद) हुने गरेको आरोप लगाउँदै आएका छन् । हालै सम्पन्न ‘मिस नेपाल’मा पनि ‘नेपोटिजम’को आरोप लागेको छ । प्रतियोगीमा मिस नेपाल इन्टरनेसनल उपाधि विजेता प्रसिद्धी शाह माथि यो आरोप लागेको हो ।  
टप फाइभ राउन्डमा बोल्ने क्रममा अन्य प्रतियोगीले ४५ सेकेन्ड समय पाउँदा उनले भने करिब २ मिनेट समय पाएकी थिइन् । प्रसिद्धी पहिलो मिस नेपाल रुवि राणाकी छोरी भएकै कारण बढी समय दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
‘नेपोटिजम’को आरोप लाग्न थालेपछि रुविले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छन् । राणाले प्रसिद्धीलाई दिइएको बढी समय प्राविधिक गल्ती भएको बताइन् ।
छोरीले उपाधि जितेपछि भावुक बनिन् रुवि राणा
‘टप फाइभमा कुनै विषय उठाएर बोल्नुपर्ने क्रममा किन बजर बजाइएन । ४५, सेकेन्ड वा ५५ सेकेन्ड बोल्नु भनेपछि कुनै प्रतियोगीले बोलिरहँदा कसैको माइक खोसियो भने मेरो छोरीको किन खोसिएन, किन बजर बजाइएन ?’, उनी अगाडि भन्छिन् ‘उसले ४५ सेकेन्डमा बोल्ने कुरो सबै बोलिसकेको थियो ।’ आफै रोकिन अगाडि समयको काउन्टडाउन स्क्रिन राखिनु पर्ने उनको धारणा छ । 
आफ्नो छोरीलाई मात्र इस्यू बनाएको गुनासो गर्दै उनले भनिन् ‘४५ सेकेन्डमा प्रसिद्धीले भनाई कभर गर्न सक्थिन् । तर किन रोकिएन ? यसको जवाफ आयोजकले प्रेस मिट गरेर होस् वा अन्य तरिकाले दिनुपर्छ ।’
‘कि त आयोजकले प्रतियोगिता फेरि टप फाइभ राउन्डमा पु¥याएर प्रश्न गर्ने वातावरण गर्नुप¥यो । मलाई पनि चित्त बुझेको छैन,’ उनले भनेकी छन् । 
प्रसिद्धीले मिस इन्टरनेशनलको उपाधि आफ्नो क्षमता, दक्षता र मिहिनेतले पाएको भन्दै प्रथम मिस नेपालकी छोरी भएको हिसाबले हात नपारेको स्पष्ट पारिन् । छोरीले मिस नेपाल वर्ल्डको उपाधि जित्न सक्ने समेत उनको विश्वास छ ।