‘कीर्तिशेष कीर्तिनाथ चालिसे’ स्मृतिग्रन्थ लोकार्पण

२०८० जेठ १२ शुक्रबार १८:२६:०० मा प्रकाशित

नवलपुर । नाम अनुरुपको कर्म गरेर कीर्ति राख्न सफल स्व. कीर्तिनाथ चालिसेको स्मृतिग्रन्थ शुक्रबार लोकार्पण भएको छ ।  त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटको संयोजनमा “कीर्तिशेष कीर्तिनाथ चलिसे स्मृति ग्रन्थ” आज लोकार्पण भएको हो । 
यस स्मृति ग्रन्थमा स्व.कीर्तिनाथ चालिसेको जिवनी, व्यक्तित्वको परिचय, शिक्षा, समाज र राजनीतिक क्षेत्रमा पु¥याएका उहाँका योगदानका किस्साहरु समावेश रहेका छन । 
स्मृतिग्रन्थ लोकार्पणमा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कीर्तिनाथ चालिसे प्रजातान्त्रिक योद्धा, असल र कर्मनिष्ठ सामाजिक व्यक्तित्वको रुपमा अमर रहेको बताउनुभयो । उहाँले बुबा सूर्यभक्त अधिकारीसँग नजिक रहेर शिक्षाको विकासमा विशेष योगदान गरेर नै गैँडाकोटको शैक्षिक विकासमा भूमिका खेलेको बताउनुभयो । 
प्राध्यापक पुर्णप्रसाद अधिकारीले कृतिको समिक्षा गर्दै स्मृतिग्रन्थ समाज अध्ययनका लागि एउटा संघर्षको दस्तावेज रहेको बताउनुभयो । अधिकारीले,  जिवन, विभिन्न व्यक्तित्वले उहाँलाई गरेको मूल्याङ्कन, पारिवारिक र सामाजिक रुपमा उहाँको संघर्षशील छवि पुस्तकमा रहेको बताउनुभयो ।  
निम्बार्क दर्शन केन्द्र (प्रतिक बृन्दावन) गैँडाकोटका संस्थापक हरिशरण उपाध्यायले समाजसेवी र अरुका लागि पनि गर्न सक्नुपर्छ भन्ने भावना भएका चालिसे सबैका प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले चालिसे गैंडाकोटको गौरव भएको बताउनुभयो ।
समाजसेवी केशवप्रसाद सापकोटा, ओमप्रसाद सापकोटा, बामदेव खनाल, कृष्णलाल सापकोटा गैँडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोबिन्दराज बिनोदीले शिक्षाले समाज परिवर्तन गराउने हुनाले शिक्षाको विकासमा उहाँले जोड दिएको स्मरण गर्नुभयो । साथै उहाँ स्पष्ट बक्ता र सहज, सरल मान्छेको रुपमा रहेको बताउनुभयो ।  
स्व. किर्तीनाथ चालिसेका छोरा कृष्णचन्द्र चालिसेले स्मृतिग्रन्थ बुवाको प्रेरणा र स्मरणका लागि ग्रन्थ प्रकाशन गरिएको बताउनुभयो । बुबाकै पाइला पच्छाउँदै सदैव सत्कर्ममा हिड्ने प्रेरणा मिलेको उहाँको भनाई छ । 
त्रिवेणी साहित्य प्रतिष्ठानका कोषाध्यक्ष धर्मानन्द पौडेलले उहाँको स्मृतिमा कविता वाचन गर्नुभयो । किर्तिशेष किर्तिनाथ चालिसे स्मृति ग्रन्थमा उहाँको स्मृतिमा ७ वटा कविता छन ।
स्मृतिग्रन्थ प्रकाशन मुल समिति संयोजक लक्ष्मी नारायण शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कृति सम्झनाका लागि महत्वपूर्ण हुने बताउनुभयो । 
कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुरका अध्यक्ष प्रा. डा. नारायण प्रसाद खनालको अध्यक्षतामा भएको थियो भने प्रतिष्ठानका सचिव भिम शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 
ज्योतिषी नामबाट पनि समाजमा आफ्नो कीर्ति कमाउनुभएका उहाँको राजनीतिक जीवन ज्योतिषशास्त्र अध्ययनको सिलसिलाबाट सुरु भएको थियो । वि.सं. २०१४ सालमा भारतको मद्रासबाट नेपाल फर्कदा ज्योतिषशास्त्र सिक्न स्वर्गद्वारी जाने योजना चालिसेले बनाउनुभयो । स्वर्गद्वारी जानेक्रममा बाटोमा राजनीतिक पर्चा बोकेका व्यक्तिसंग भेट भयो । त्यतिबेला हुन लागेको आम निर्वाचनमा नेपाली काँग्रेसको सहभागिता हुने खबर पश्चात् उहाँको जीवनले बीच बाटोबाटै राजनीतिक मोड लियो ।
वि.सं. १९९८ चैत्र २९ गते बाग्लुङको धुल्लु गहते भन्ने स्थानमा उहाँको जन्म भएको थियो ।  वि.सं. २०१९ सालमा चितवन आउनुभएका चालिसे २०२३ सालमा गँैडाकोट १ मा बसाइ सर्नुभयो । तत्पश्चात उहाँको सामाजिक जिवनले गति लियो । गँैडाकोट जनक माविको संस्थापक अध्यक्ष, नेपाल राष्ट्रिय शमसेर आदर्श माविको शैक्षिक विकासमा उहाँले उल्लेख्य भूमिका खेल्नुभएको थियो । 
जयश्री कुलोको विकास, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको संस्थापक सदस्य, मौलाकाली सामुदायिक वनमा ५ वर्ष सल्लाहकार, २०४८ देखि गैँडाकोटमा खानेपानीको विकासमा चालिसेले विभिन्न भूमिकामा रहेर सहयोग गर्नुभएको थियो ।
वि.सं. २०३५ सालमा पार्टी प्रतिबन्धित अवस्थामा पनि नेपाली काँग्रेसको जिल्ला सदस्य भएर राजनीतिक क्षेत्रमा आवाज क्रियाशील रहनुभयो । 
वि.सं. २०४९ सालदेखि २०५४ सालसम्म गँैडाकोट गाउँविकास समितिको उपाध्यक्ष भएर चालिसेले गँैडाकोटको व्यवस्थित मानववस्ती विकासमा सहयोग पु¥याउनुभएको थियो । 
उहाँलाई जिल्ला शिक्षा समिति नवलपरासीले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०४२ सालको राष्ट्रिय शिक्षा दिवशमा सम्मान गरको थियो । यसका साथै नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबद्धारा उहाँको योगदानको मूल्यांकन गर्दै मृत्यु पश्चात् जनक माविमा सम्मान प्रदान गरिएको थियो । 
तीर्थाटन गर्न रुचाउने उहाँको जीवनको अन्त्य पनि धार्मिक यात्राकै क्रममा हुन पुगेको थियो । वि.सं. २०७० साल जेठ १९ गते भारतका धेरै जसो तीर्थस्थलहरुको यात्रा सम्पन्न गरि घर फर्कने क्रममा उहाँको भारतमै जीवनलिला समाप्त भएको थियो । उहाँसंगै उहाँकी धर्मपत्नी जमुना र माहिला छोरा हरिश्चन्द्र चालिसेको जीवन पनि तीर्थाटनकै क्रममा बाढीमा परेर जिवनको अन्त्य भएको थियो । स्व. कीर्तिनाथ चालिसेको जीवनलिला सकिएपनि उहाँका कर्महरुका कारण उहाँ आजसम्म पनि अमर रहनुभएको छ ।