देवचुलीमा २ महिना अगावै लक्ष्य भन्दा बढी राजस्व संकलन

देवचुली । देवचुली नगरपालिकाले आन्तरिक स्रोततर्फ गतवर्ष भन्दा कम भए पनि लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको हालसम्म ३ करोड १६ लाख ६० हजार २ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको हो । आन्तरिक राजस्वतर्फ १०५.४२ प्रतिशत प्रगती गरेको हो । चालु आर्थिक वर्षमा ३ करोड ३३ हजार प्रस्तावित गरिएकोमा २ महिना अगावै लक्ष्य भन्दा बढी ३ करोड १६ लाख ६० हजार २ सय ६६ रुपैयाँ राजस्व संकलन भएको देवचुली नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख जीवलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गतवर्ष ३ करोड ६० लाख ६ हजार १ सय १५ लक्ष्य रहेकोमा केही कम ३ करोड ३६ लाख ५१ हजार ८ सय २२ रुपैयाँ संकलन भएको थियो ।
यस वर्ष संकलन भएकोमा सबैभन्दा धेरै सम्पत्ति करमा ९५ लाख ४४ हजार १ सय ३६ रुपैयाँ संकलन भएको राजस्व शाखाका गंगा भुसालले जानकारी दिनुभयो । घरबहाल करतर्फ ४७ लाख १५ हजार ४४१ रुपैयाँ करवापत उठेको छ । सबैभन्दा धेरै प्रगतीमा भने नाता प्रमाणित दस्तुरमा १८१.५२ प्रतिशत रहेको छ । जस्मा ६ लाख ५८ हजार ९ सय संकलन भएको छ ।
आर्थिक वर्ष सकिन अझै करिब २ महिना बाँकी रहेकाले नगरपालिकाको आन्तरिक राजस्व अझै बढ्ने देखिन्छ ।