भरतपुर र कालिका नगरपालिकामा समावेशी शिक्षा प्रदान गरिदै 

२०७९ चैत ६ सोमबार १२:३२:०० मा प्रकाशित

चितवन । समावेशी शिक्षा प्रणाली र सेवामा सुदृढीकरणका लागि चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना सञ्चालन भैरहेको छ ।

भरतपुरका महानगरपालिका र कालिका नगरपालिका गरी ४० वटा वडा एवम् सम्पूर्ण १५४ सामुदायिक विद्यालयहरू परियोजना अन्तगर्त काम भइरहेको अटिजम केयर चितवन सोसाइटीका कार्यकारी निर्देशक प्रमिला न्यौपानेले जानकारी दिनुभयो । विद्यालयभित्र पूर्वप्राथमिक तहदेखि कक्षा ८ सम्म र विद्यालयबाहिर रहेका ४ देखि १७ वर्ष उमेर समुहका सम्पूर्ण अपाङ्गता भएका, कार्यगत सीमितता भएका र सिकाइमा कठिनाई भएका बालबालिका लक्षित कार्यक्रम भइरहेको राष्ट्रिय बहिरा महासंघका परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिनुभयो । परियोजना अन्तर्गत करिब ३५ हजार बालबालिकाहरूलाई समावेशी शिक्षा प्रदान भइरहेको जनाईएको छ । 

परियोजनाले बालबालिकाहरूको शिक्षा तथा सिकाइमा प्रत्यक्ष वा परोक्षरूपमा सरोकार राख्ने संरचनामा सुदृढीकरणका लागि कार्य गर्ने, समावेशी शिक्षाका क्षेत्रमा यसअधि नै परीक्षणबाट प्रमाणित भएको ढाँचालाई कार्यान्वयन गर्ने, कार्य गर्दा प्राप्त भएका उपलब्धि र सिकाइलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आदान–प्रदान गर्ने गरेको छ ।  

युकेएडको आर्थिक सहयोगमा ह्याण्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनलको सहकार्य एवम् प्राविधिक सहयोगमा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले परियोजना सञ्चालन गरिरहेका छन् । स्थानीयस्तरमा अटिजम केयर चितवन सोसाइटीले शिक्षा प्रणालीको सुदृढीकरण, विद्यालय तथा समुदायस्तरमा हुने शैक्षणिक क्रियाकलाप र राष्ट्रिय बहिरा महासंघले जटिल प्रकारका अपाङ्गता भएका बालबालिकाहरूका लागि कार्य गरिरहेको चितवनमा सञ्चारकर्मीबीच भएको अन्तरक्रियामा अटिजम केयर चितवनका अध्यक्ष निर्मला डल्लाकोटीले जानकारी दिनुभयो । 

दुवै पालिकामा श्रोतकक्षा र कार्यात्मक लेखाजोखा केन्द्र मार्फत जटिल प्रकारको अपाङ्गता भएका बालबालिकाहरूलाई सेवा प्रदान गर्नुका साथै समुदाय स्तरमा अभिभावक समूह बनाई अभिभावक शिक्षा समेत प्रदान गर्दै आएको बहिरा संघका अध्यक्ष केपी अधिकारीले बताउनुभयो । 

परियोजनाले आगामी दिनमा विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई मध्यनजर गरी ब्रिजकक्षा सञ्चालन गर्ने, सिकाइमा प्रविधिको प्रयोगलाई सहजीकरण गर्ने र सोका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरूसँग सहकार्य गर्ने बताएको छ ।