नवलपरासीमा जनयुद्धका बेला मारिएका ५८ जनालाई ‘राष्ट्रिय सहिद’को मान्यता (सूचीसहित)

२०७९ चैत ४ शनिबार १७:०१:०० मा प्रकाशित

नवलपुर । जनयुद्धका बेला मारिएका साविक नवलपरासीका ५८ जनालाई ‘राष्ट्रिय सहिद’को मान्यता दिइएको छ ।नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) र नवलपरासी(बर्दघाट सुस्तापश्चिम) दुवै जिल्लाका गरी ५८ जनाको नाम राजपत्रमा प्रकाशित भएको हो । 

राज्यपुर्नसंरचनापछि नवलपरासी दुई जिल्लामा विभाजन भएपनि सहिदहरुको सूचि भने एकै स्थानमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले सहिदहरूको अभिलेख छुट्याई पेश गर्नुपर्नेमा त्यसो नगरेको पाइएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)का २८ जनाको नाम उल्ल्ेख गरिएको छ । जसमध्ये गैँडाकोटका तीनजना रहेका छन् । 

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ वटै जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् ।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली