गैँडाकोटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हरिहर मन्दिर गैरीको योजना 

२०७९ चैत १ बुधबार १८:०५:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ७ मा रहेको श्रीहरिहर मन्दिर, परमानन्द–सन्न्यास–आश्रमले गैँडाकोटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ । मन्दिरको ३३ औं वार्षिक साधारणसभा सो योजना अघि सारिएको हो । 

श्रीहरिहर मन्दिर, परमानन्द–सन्न्यास–आश्रमका अध्यक्ष जिवनाथ कंडेलले मन्दिरले आगामी दिनमा यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभएको छ । उहाँले ४० फिट चौडाई ६० फिट लम्बाईको सतसङ्ग हल निमार्ण गरिने पनि जानकारी दिनुभएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री परमानन्द संस्कृत गुरुकूल विद्यापिठम् देवघाटधाम तथा नेपाल सन्त समाजका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले सनातन धर्मको संरक्षणमा धार्मिक संघसंस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले अब आउने पुस्तालाई यसको महत्त्व बुझाउन आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारिले धर्म संस्कृतिको संरक्षणमा यस मन्दिरले ठूलो भूमिका निभाएको बताउँदै मन्दिरलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभएको छ । 

कार्यक्रममा गैँडाकोट ७ का वडा अध्यक्ष एवं मन्दिरका पूर्व अध्यक्ष होमनाथ सापकोटा, हनुमान मन्दिर गैंडाकोट ९ का अध्यक्ष टीकाराम सापकोटा, कालिका संस्कृति विद्यापिठका प्राचार्य डा. रामचन्द्र कंडेल, मन्दिरका पूर्व अध्यक्ष गुरुप्रसाद कंडेल, गैंडाकोट सतसङ्गका अध्यक्ष नारायण गौतम लगायतले शुभकामना राख्नुभएको थियो । 

साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरका सचिव सविन सापकोटाले आगामी दिनमा मन्दिर तथा मन्दिर परिसरको पर्खाल रङ्गरोगन गर्ने, पाठशाला भवनको बाकी निर्माण कार्य पुरा गर्ने बताउनुभयो । त्यस्तै आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष उमनाथ शर्माले प्रस्तुत गर्नुभएको थियो । 

नारायण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष बिष्णुप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रममा जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, धार्मिक व्यक्तित्व लगायतको उपस्तिथी रहेको थियो ।