गैंडाकोट ४ का युवाले सुरु गरे वातावरण सरसफाइ अभियान 

२०७९ फाल्गुण २७ शनिबार १८:४६:०० मा प्रकाशित


गैंडाकोट । गैंडाकोट ४ मा वातावरण सरसफाइ अभियान सुरु भएको छ । गैंडाकोट युवा क्लब वडा नम्बर ४ ले सुरु गरेको यो अभियान १ महिनासम्म चल्ने छ । 

गैंडाकोट युवा क्लब वडा नम्बर ४ का अध्यक्ष हिमाल शाही ठकुरीले वडामा रहेको नाला, सडक, सार्वजनिक स्थल लगायतमा सरसफाइ गर्ने र विभिन्न ठाउँमा डस्विन राख्ने योजना रहेको बताउनु भयो ।

गैंडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले युवाको हक हितमा कसरी काम गर्ने, वडाको विकासमा युवा परिचालन कसरी गर्ने भन्ने जिम्मा क्लबमा रहेको बताउँदै सोहि अनुरुप काम गर्न सुझाव दिनुभएको छ । क्लबलाई आर्थिक रूपमा वडाले सहयोग गर्ने बताउँदै वातावरणमैत्री वडा बनाउन यसले सहयोग गर्ने उहाँको विश्वास छ । 

गैँडाकोट नगर युवा सञ्जालका अध्यक्ष रोशन दर्लामी मगरले वडामा हुने हरेक काममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै नमुना युवा समाज गैंडाकोट ४ का अध्यक्ष प्रदिप सापकोटाले गैंडाकोट ४ युवा क्लबले गरेको काम प्रशंसा योग्य  रहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस वडा समिति गैंडाकोट ४ का सभापति कृष्णप्रसाद पराजुली, नेकपा माओवादी केन्द्र गैंडाकोट ४ का वडा अध्यक्ष एकदेव घिमिरे, नगर कार्यपालिका सदस्य शान्ता घर्ती, कोटेश्वर शिवालय मन्दिरका अध्यक्ष हरिकृष्ण रिमाल, खेलकुद विकास समिति गैँडाकोटका अध्यक्ष लक्ष्मण कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

क्लबका सचिव दिपेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबका उपाध्यक्ष अन्जिता परियारले स्वागत मन्तव्य राख्नुभएको थियो ।