कोटीहोम महायज्ञमा नगद आम्दानी भन्दा उठ्न बाँकी धेरै 

२०७९ फाल्गुण २४ बुधबार १६:१४:०० मा प्रकाशित

गैँडाकोट । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा मात्र ८६ लाख ७ हजार ६ सय ४२ रुपैयाँ नगद उठेको छ । 

कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा आयोजित खर्च विवरण सार्वजिनक कार्यक्रममा आर्थिक उपसमिति संयोजक वेदप्रसाद गौडेलले १ करोड ५८ लाख ६८ हजार ४९१ रुपैयाँ उठ्न बाँकी रहेको जानकारी दिनुभयो । यसअघि २ करोड ५३ लाख आम्दानी भनिएपनि वास्तविक आम्दानी २ करोड ४४ लाख ७६ हजार १ सय ३३ रहेको उहाँले बताउनुभयो । 

आर्थिक उपसमितिका महासचिव गोपालसिंह थापाले मात्र २९ लाख ८९ हजार ५ सय ५२ रुपैयाँ खर्च भएको बताउनुभयो । २ लाख ७० हजार ५ सय ६० रुपैयाँका तीनवटा चेक नसाटिएको उहाँको भनाई थियो ।

गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, गैँडाकोट १० का वडा अध्यक्ष देविदत्त कँडेल, स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिको उपस्थितीमा भएको कार्यक्रममा महयज्ञका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महायज्ञका सबै समिति भङ्ग भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले आश्रमको स्तरोन्नतीका लागि सक्दो सहयोग गर्ने बताएका थिए । 

श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमका अध्यक्ष मनहरि कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण महासचिव नरहरि सापकोटाले गर्नुभएको थियो । 

आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटीहोम आश्रमको प्राङ्गणमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ सञ्चालन भएको थियो ।