रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

२०७९ माघ १५ आइतबार १४:५५:०० मा प्रकाशित


काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताउनुभएको छ । लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाउनुभएको थियो ।

त्यसैले उहाँ अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११  र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताउनुभयो ।