रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाउने देउवाको तयारी

२०७९ माघ १० मंगलबार ०६:०६:०० मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल सुरु भएको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बैठक बोलाउनुभएको थियो  । एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिनुभएको हो ।

स्रोतका अनुसार कांग्रेस वरिष्ठ नेता पौडेल, प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्वादमा हुनुुहुन्छ। कृष्ण सिटौलाले भने पार्टीले आफूलाई उम्मेदवार बनाएको अवस्थामा मात्र माओवादीलाई कन्भिस गर्न सहज हुने तर्क गर्ने गर्नुभएको छ ।

स्रोतका अनुसार सोमबारको बैठकमा कांग्रेस नेताहरुले मतभारको हिसाब समेत गरेका थिए । तर माओवादी केन्द्रले संस्थागत निर्णय गरेर मत नदिँदासम्म केही नहुने देखिएपछि प्रधानमन्त्री प्रचण्डसँग विश्वासको वातावरण बनाउन पहल गर्ने समझदारी भएको छ ।

एक नेताका अनुसार माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नसकेको अवस्थामा के गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । कतिपयले एमालेको राष्ट्रपति हुन नदिन विकल्पबारे पनि सोच्नुपर्ने बताएका छन् । तर सभापति देउवाले अहिले यसबारे छलफल नै नगर्ने बताएका छन् । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सबै दलसँग भोट माग्ने उहाँले बनाउनुभएको छ ।
अनलाईन खबरबाट