गैँडाकोटमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिता सुरु

२०७९ माघ ४ बुधबार १६:१०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिता गैँडाकोटमा सुरु भएको छ । गैँडाकोट नगरपालिकाका आयोजना, जनक नमुना माविको संयोजन र गैँडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा जनक माविको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको उद्घाटन सत्रमा कार्यक्रमका अध्यक्ष, गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले खेल मानव जीवनमा अपरिहार्य रहेको बताउँदै अनशासनपूर्वक खेल्न आग्रह गर्नुभयो । उहाँले जिल्ला हुँदै केन्द्रमा समेत उच्च प्रदर्शन गर्न सफल हुनहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । संस्थागत विद्यालयका तर्फबाट बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेले शिक्षा र खेलकुद विभेदरहित हुनुपर्ने बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयबीचको दुरी अन्त्य गर्दै कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयकातर्फबाट बोल्दै नेराश आदर्श माविका प्रधानाध्यापक खेल र शिक्षा मानव जीवनका अभिन्न पाटो भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नगर उप प्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की लगायत जनप्रतिनिधि, शिक्षाप्रेमी, वुद्धिजिवी, शिक्षक अभिभावक विद्यार्थीको उपस्थिती रहेको थियो । कार्यक्रममा जनक नमुना माविका प्रधानाध्यापक चुडामणी शर्माले स्वागत एवं शिक्षक हिमालयदेव पंगेनीले सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रमपूर्व विद्यार्थीहरुले मार्चपास गरेका थिए । प्रतियोगिता अन्तर्गत आज छात्र, छात्राका भलिबल, कपर्दी, सितेरियो कराँते, १५००, ८०० र २०० मिटर दौड प्रतियोगिताका विभिन्न चरणका खेल सम्पन्न भएका छन् । भोली र पर्सी बाँकी अन्य फाईनल चरणका खेलहरु एवं रिले दौड, हाईजम्प, सट्पुट्, लङजम्प, ज्याभलिन थ्रो, तेक्वान्दोका खेलहरु हुनेछन् ।