स्वास्थ्य व्यवसायी संघ गैँडाकोटको पाचौँ साधारण सभा सम्पन्न

२०७९ पौष ३० शनिबार १७:२९:०० मा प्रकाशित


गैँडाकोट । समुदायमा स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइको पाचौँ साधारण सभा सम्पन्न गरेको छ । 

गैँडाकोट ९ थुम्सीमा भएको साधारण सभामा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोटले स्वास्थ्य सचेतना र निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेर समाजमा सेवा गरिरहेको बताउनुभयो । उहाँले संस्थाको प्रगतीको कामना गर्दै नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइका अध्यक्ष इश्वरीप्रसाद घिमिरेले स्वास्थ्य सचेतनाका लागि, ग्रामीण क्षेत्र र अन्य क्षेत्रमा नागरिकलाई सहज स्वास्थ्य उपलब्धताका लागि संस्थाले समय समयमा स्वास्थ शिवीर सञ्चालन गरेको बताउनुभयो ।  

कार्यक्रममा सचिव खुमनाथ शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले सबै निजि औषधी व्यवसायीलाई एकजुट बनाउँदै अगाडी बढ्ने बताउनुभयो । 

कोषाध्यक्ष विनोद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक विमल पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा गैँडाकोट विधायन समितिका संयोजक ज्ञानप्रसाद खनाल, नगर अस्पतालका प्रमुख पुष्पराज श्रेष्ठ, स्वास्थ्य शाखा गैँडाकोटका जनस्वास्थ्य निरीक्षक प्रकाश पोख्रेल, औषधी व्यवसायी संघ नवलपुरका अध्यक्ष कमल नारायण श्रेष्ठ, नेपाली काँग्रेस नगर सभापति बद्री सापकोटा, नेकपा एमाले नगर उपाध्यक्ष नवराज कँडेल लगायतले नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइले समुदायमा स्वास्थ्य सचेतना र सेवाका लागि गरेका कामलाई आगामी दिनमा पनि निरन्तर रुपमा गर्दै अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभएको छ । 

साधारण सभाले संस्थाका पूर्व उपाध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा शिवीर व्यवस्थापन, सदस्यता नविकरण, वितरण, आन्तरिक मूल्याङ्कन समिति गठन गरिएको छ ।