अमर सहकारीका नव निर्वाचित सञ्चालकद्वारा शपथ ग्रहण 

२०७९ पौष २७ बुधबार १९:०९:०० मा प्रकाशित

गैँडाकोट । अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा तथा १०औँ सञ्चालक र लेखा सुपरिवेक्षण समिति चयन कार्यक्रमबाट नव निर्वाचित सञ्चालक एवं लेखा सुपरिवेक्षण समितिले बुधबार शपथ ग्रहण एवं पदभार ग्रहण गरेका छन् । 

संस्थाको सभाहालमा सपथग्रहणपछि नव निर्वाचित अध्यक्ष कुलप्रसाद अधिकारीले संस्थाको हित विपरित कुनैपनि गतिविधि नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष हरिदत्त उपाध्यायले दुःखले हुर्काएको संस्थाको गरिमा राख्न आग्रह गर्दै नामजस्तै अमर राख्न सकुन् भनि शुभकामना व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष प्रजापति कंडेलले संस्थाले सञ्चालन गरेका अपुरा कार्य समयानुसार पुरा गरी जिम्मेवारी गहनताका साथ निर्वाह गर्न आग्रह गर्नुभयो ।

निर्वाचन समितिका संयोजक झलकराज पौडेलले बाध्यात्मक अवस्थामा मतदान गर्नुपर्ने अवस्था आएपनि आगामी दिनमा मत विभाजन नगरी अघि वढ्न आग्रह गर्नुभयो । 

कार्यक्रमका वक्ताहरुले सहकारी नीति, विधान र सहकारीको मूल्यमान्यता अनुरुप सहकारीका सदस्यको हित र आर्थिक सुशासनका लागि काम गर्न सुझाव दिदैँ शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट १७ का वडाअध्यक्ष गोपी कंडेल, लेखा संयोजक हरिभक्त कंडेल, अध्यक्ष पदका प्रत्यासी भवानीप्रसाद पौडेल, उपाध्यक्ष पदका प्रत्यासी युगेन्द्र कोईराला लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

संस्थाका व्यवस्थापक देवेन्द्रबहादुर खड्काले सहजिकरण गर्नुभएको शपथ ग्रहण एवं पदभार ग्रहण कार्यक्रममा गैँडाकोट १४ का वडाअध्यक्ष कोकीसरा रानामगर, संस्थाका पूर्व अध्यक्षहरु यामलाल कंडेल, डण्डपाणी रिजाल, दाताराम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रजापति कंडेलले नव निर्वाचित अध्यक्ष कुलप्रसाद अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको थियो । 

सहकारीको सर्वसम्मत र निर्वाचनबाट गरी सञ्चालक समिति अध्यक्षमा कुलप्रसाद अधिकारी, उपाध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा, सचिवमा आनन्दकुमार शर्मा पंगाली, कोषाध्यक्षमा जितबहादुर गुरुङ, सह–सचिवमा उमानन्द कंडेल, सदस्यहरुमा रविलाल सापकोटा, रामचन्द्र पराजुली, लक्ष्मी हमाल, प्रेमप्रसाद सापकोटा, निता शर्मा, चन्द्रकुमारी शर्मा, मधु खड्का, अम्बिका सापकोटा, राजेन्द्र खत्री र होमनाथ कंडेल रहेका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा हरीभक्त कंडेल, सदस्यहरुमा उमाकान्त जैशी र सबिता सापकोटा रहेका छन् ।