लिदै नलिएको ऋण तिर्न ताकेता गर्ने धौलागिरी सहकारीलाई ३ लाख जरिवाना

२०७९ कार्तिक २४ बिहीबार १३:०५:०० मा प्रकाशित

पोखरा : गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले धौलागिरी बचत तथा ऋण सहकारी संस्था, कास्कीलाई कारबाही गरेको छ । संस्थाले कर्जा प्रवाह गर्दा प्रक्रिया नपुर्याएको भन्दै रजिष्ट्रार कार्यालयले सहकारी संस्थालाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै प्रचलित कानुन बमोजिम संस्था सञ्चालन गर्न समेत कार्यालयले निर्देशन दिएको छ ।

लिदै नलिएको ऋणको ताकेता

संस्थाका सदस्य पूर्ण बहादुर गुरुङले २०७६ साल असार ९ गते धौलागिरी बचत तथा ऋण सहकारी संस्थामा ऋण आवेदन दिएका थिए । संस्थाबाट ऋण लिनको लागि गुरुङले तीन वटा जग्गा धितोमा राखेका थिए । उक्त जग्गा संस्थाले रोक्का राखेर पाँच लाख रुपैयाँ कर्जा स्विकृत गराएको थियो । उक्त जग्गाको रोक्का मुल्य पाँच पनि रुपैयाँ समेत कायम भएको छ । २०७८ साल असार १४ सम्ममा गुरुङको खातामा २५ हजार ६ सय २९ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यसपछि खातामा कुनै पनि रकम थपघट भएको छैन । जुन कुरा स्वयंम सहकारी संस्थाले नै पुष्टी गरेको छ ।

मिति २०७८ साल पुष २० गते ऋणी सदस्य गुरुङको निधन भयो । गुरुङको निधन भएपछि छोरी मनदेवी गुरुङले उक्त सहकारीमा बाबाको कारोबार बुझ्न जाँदा ३ करोड १७ लाख ८० हजार रुपैयाँ ऋण लिएको जानकारी पाए । ऋणीले ऋण लगेको र तिर्न बारम्बार सहकारीले ताकेता गर्दै आयो । सहकारी उक्त ऋण तिर्न ताकेता गरेपछि मनदेवी गुरुङले रजिष्ट्रार कार्यालयमा उजुरी दिएका थिए । ऋणीले उक्त रकम ऋण लिएको भनी सहकारीले कुनै पनि प्रमाण दिन नसकेपछि संस्था कारबाहीमा परेको हो । सहकारी खबरबाट