सहकारीकर्मीहरु आन्दोलनमा

२०७९ कार्तिक २४ बिहीबार १२:२७:०० मा प्रकाशित

काठमाडौं : सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नका लागि काठमाडौं जिल्लामा सञ्चालित सहकारीकर्मीहरुले संघहरुलाई दबाब दिने भएका छन् ।

कालो ब्यानर मुनी बसेर सहकारी क्षेत्रको समस्या समाधानका लागि विभिन्न माग लिएर जिल्ल्ला संघहरु जाने र जिल्ला संघहरुबाट पहलकदमी लिई कार्यान्वयन गराउन पहल गर्ने निर्णय गरेका छन् ।

भेलाले विद्यमान सहकारी समस्या सामुहिक समस्या हो वा होईन भन्ने संघहरुको आधिकारक धारणा माग गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारीमा सदस्यहरुको निक्षेप सुरक्षित रहनेमा आश्वस्त पार्न केन्द्रीय संघ, सहकारी बैंक र महासंघको सामुहिक प्रतिवद्धता जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

हाल सहकारीमा देखिएको तरलता संकटको सुरुवाती जिम्मेवार सन्दर्भ व्याजदर भएकाले तत्काल सन्दर्भ ब्याजदरको अवज्ञा गर्दै खारेजीको पहल संघहरुले गर्नुपर्ने निर्णय उनीहरुले गरेका छन् ।

त्यस्तै सहकारी संस्थाको ऋण असुलीमा देखिएका कानुनी जटिलता हटाउँदै संस्थाको पत्रद्वारा ऋणी तथा जमानीको सम्पत्ती रोक्का गर्ने, कालोसूचिको व्यवस्था लगायतका कार्यहरु संघहरुको पहलकदमीबाट लागू लगाउनुपर्ने निर्णय गरेको छ ।

राज्यको तर्फबाट सहकारीमा देखिएको तरलता समस्या समाधान गर्न सदस्यहरुलाई आश्वस्त गर्ने विषयको विज्ञप्ती जारी गर्नको लागि संघहरुले पहल गर्नुपर्ने, तरलता संकटको अर्थपूर्ण समाधानका उपायहरु खोज्ने र अभियानबाट समाधान हुन नसक्ने भएमा सरकारसँग सहुलियत पूर्ण कोष सहितको व्यवस्थाका लागि संघहरुले पहल गर्नुपर्ने निर्णय गरेको छ ।

यी मागहरु सम्बोधन नभए संघहरुको कार्यालय घेराउ गर्ने, तालाबन्दी लगायत विरोधका कार्यक्रमहरु गरी आन्दोलन सुरुवात गर्ने भेलाले निर्णय गरेको छ ।