दीर्घ रोगीको पनि बीमा हुने, तर बढी बीमाशुल्क बुझाउनुपर्ने

२०७९ कार्तिक २४ बिहीबार १२:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सबैको अधिकार हो भन्दै दीर्घ रोग लागेका बिरामीहरुको पनि बीमा गर्न सकिने खुलासा गरेको छ । 

प्राधिकरणले त्यस्तो दीर्घ रोगीले बढी बीमा शुल्क बुझाएर बीमा गर्न सकिने सुविधा रहेको बताएको हो । त्यस्ता रोगीले आफूलाई लागेको रोगबारे जीवन बीमा कम्पनीलाई जानकारी दिएर बीमा गर्न सक्छन् । 

दीर्घ रोगीले इच्छाएको अवस्थामा आफूहरुले जोखिम लिन तयार रहेको कम्पनीहरुले पनि बताएका छन् । उनीहरुले आफूहरुले बीमाशुल्क संकलन गर्नका लागि मात्रै नभई बीमितहरुको इच्छाअनुसार बीमा गर्ने गरेको बताएका हुन् । 

तर यस्तो बीमा अरु स्वस्थ मानिससरह नभई बढी बीमाशुल्क लिएर फरक ढंगले गरिन्छ । यस्तो बीमामा कुनै पनि रोग लागेका बिरामीको बीमा गरिन्छ । दीर्घ रोग लागेर पनि पूर्व जानकारी नदिई बीमा गर्दा कम्पनीहरुले कुनै पनि बिमांक दिन बाध्यकारी हुँदैनन् । तर जानकारी दिएर बढी बीमाशुल्क बुझाउँदा भने बीमांक पाउँछन् । 
  
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले दीर्घरोग लागेका बिरामीहरुको अन्य बीमित जस्तो सामान्य रुपमा बीमा नहुने तर त्यस्तो अवस्थामा बीमाशुल्कको हिस्सा बढाएमा बीमा हुने बताए । उनले दीर्घ रोग लागेको बेलामा जोखिम समेत बढ्ने भएकाले बढी बीमाशुल्क कम्पनीहरुले लिने बताए । 

पौडेलले भने, ‘अब कुनै पनि व्यक्तिलाई दीर्घ रोग लाग्नु भनेको एउटा विशेष अवस्था हो । त्यसैले त्यस्तो अवस्थामा सामान्य अवस्थाभन्दा जोखिम बढी नै हुन्छ । रोग लागेका मानिसले पनि आफू बीमाको पहुँचमा आउनु चाहनु भनेको त राम्रो कुरा पनि हो । त्यसैले यदी उहाँहरुले अन्य बीमितको तुलनामा बढी बीमाशुल्क बुझाउन भएमा उहाँहरुको पनि बीमा हुन्छ ।’ 

उनले यस्तो बीमाबाट बीमितलाई धेरथोर लाभ पनि हुने र कम्पनीहरुको पनि व्यवसाय पाउने बताए । 

त्यस्तै, एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद ९एलपी० दासले हालसम्म दीर्घ रोग लागेका बिरामीहरुको बीमा हुँदैन भन्ने भ्रम रहेको बताए । उनले केही हदसम्म उनीहरुको बीमा हुने बताए । दासले भने, ‘बीमा कम्पनी भनेको व्यवसायको लागि मात्र होइन, बीमाको अन्तर्राष्ट्रिय मान्यता भनेको मानिसलाई सेवा दिने पनि हो । त्यसैले दीर्घरोग लागेको अवस्थामा पनि जोखिम बहन गर्दै आएका छौं । तर, त्यस्तो अवस्थामा बीमितले आफ्नो रोग लुकाउनु हुँदैन भन्ने चेतना नेपालमा निकै कम छ ।’

उनले दीर्घ रोगको बीमाकै विषयलाई लिएर धेरै विवाद आउने गरेको र त्यस्तो बीमाको वस्तविकताको बारेमा अभिकर्ताहरुले जनतालाई बीमा गर्नुपुर्व बीमितलाई सत्य कुरा बुझाउनुपर्ने बताए ।