जलवायु परिवर्तन र यसले पारेको असरबारे बहस गरौँ

२०७९ कार्तिक २२ मंगलबार १२:४८:०० मा प्रकाशित

जलवायु परिवर्तन र यसले पारेको असरबारे विश्वव्यापी छलफल भइरहेको छ । यसको असर न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । जसको न्यूनीकरणका लागि वन एक माध्यमका रुपमा लिईएको छ । वनको जथाभावी कटानी, वन फडानी, आगलागी लगायतका कारण कार्बन उत्सर्जन बढ्दै गएको बताइएको छ । वनको संरक्षण गर्ने हो भने जलवायु परिवर्तन र त्यसले पारेको असर कम हुने बताउँदै आईएको छ । वन संरक्षणले वायुमण्डलमा रहेको कार्बनडाईअक्साइड जस्ता ग्यासलाई सोसेर उत्सर्जन घटाउन मद्दत पुग्ने विश्वास लिईएको छ । यसका लागि नवलपुरमा समेत रेड प्लस कार्यक्रमको शुरुवात गर्न लागिएको छ । रेड प्लस कार्यक्रम वन विनाश र क्षयीकरण घटाउने कार्यक्रमका रुपमा लिईएको छ । 

विश्वका विज्ञ सम्मिलित बैठक र छलफलपछि यो कार्यक्रम अघि बढाइएको सन्र्दभमा नवलपुरमा समेत यो कार्यक्रम लागु गर्न लागिएको छ । विकासोन्मुख मुलुकमा वन विनाशको दर घटाउन, गरिबी न्यूनिकरणमा टेवा पु¥याउन प्रस्ताव गरिएको रेड कार्यक्रम एक सस्तो र प्रभावकारी माध्यमको रुपमा स्वीकार गरिएको छ । जलवायु परिवर्तन र यसले पारेको असर समस्याका रुपमा छ । तर कुनैपनि कार्यक्रम सञ्चालन गर्नुपूर्व यसबारे जानकारी गराउनु आवश्यक हुन्छ । रेड प्लस जटिल र जान्नै पर्ने विषय भएकोले समुदायमा यसलाई सरल र सहज तरिकाले बुझाउनुपर्छ ।   

यो कार्यक्रम वनका राष्ट्रिय कार्यक्रम नीति, नियम तथा अन्तर्राष्ट्रिय महासन्धि र सम्झौताबीच तालमेल हुनेगरी गरिने भनिएको छ । सामुदायको सक्रियतामा नै सामुदायिक वनको संरक्षणमा जुटेका छन् । यसको प्रत्यक्ष उपयोग समेत स्थानीयले नै गर्दै आएका छन् । उनीहरुलाइ लाभ मिल्नेगरि कार्यक्रम गर्न सके यसको प्रभावकारिता बढ्ने छ । वन विनाश तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने, वनको प्रभावकारी संरक्षण गर्ने र यसको दिगो व्यवस्थापन मार्फत कार्बन सञ्चिति क्षमता अभिवृद्धि गराउने कार्य गरेवापत विकासोन्मुख मुलुकहरुलाई विकसित राष्ट्रहरुबाट प्रोत्साहन स्वरुप रकम भुक्तानी गर्ने उल्लेख छ । पैसाको प्रलोभन देखाउने भन्दा पनि यो कत्तिको उपयोगी हो भन्ने कुरामा विचार गरिनुपर्दछ । यस कार्यक्रमले स्थानीय समुदायको अधिकार र ज्ञानलाई सम्मान गर्नेगरि प्रभावकारी सहभागिताको ग्यारेन्टी गरिनुपर्दछ । सामाजिक र वातावरणीय सुरक्षाको ग्यारेन्टीसँगै वनको प्राकृतिक अवस्थामा सुधार, जैविक विविधताको संरक्षण गर्दै पारिस्थितिक सेवा तथा सामाजिक फाइदामा अभिवृद्धि पुग्नुपर्दछ । अन्यथा यसले अर्को जटिलता उत्पन्न हुन सक्छ । बेलैमा सोचौँ अर्को समस्या उत्पन्न नहोस् ।