भोली भाइटिका ११ बजेर ३९ मिनेटमा

नवलपरासी पूर्व । आज बुधबारका दिन गाई गोरु र गोवर्धन पूजा गरिएको छ । लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरिन्छ । गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ । द्वापर युगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झना स्वरूप यो पर्व मनाइन्छ ।
भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठुलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ । गोवर्धन पूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँगिएको छ । रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ । यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ । उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी देउसी खेल्ने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत भोली बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नभएको भट्टराईले बताउनुभयो । भोली टिका लगाइ माग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।