नारायणी किनारमा खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

२०८२ कार्तिक ३ सोमबार १४:३९:०० मा प्रकाशित

चितवन । नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ देखि हुने वृहत खेलकुद तथा बृहत व्यापारिक मेलाको तयारी तिव्र पारिएको छ । महोत्सव परिसरमा अहिले काम तिव्र गतिमा भइरहको आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।

 

खेलकुदसँगै व्यवसाय प्रवर्द्धनका लागि आयोजित महोत्सव मंसिर २ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न खेलहरु खेलाईनुका साथै ३ सय भन्दा बढी व्यवसायिक स्टलहरु रहने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ ।


यस्तै, नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने पनि कार्कीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमा रहनेछ । नेपालमा नै पहिलो पटक अतिरिक्त शुल्क नतिरी दर्शकहरुले दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावर अवलोकन गर्न सकिने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिनुभयो ।

 

महोत्सवमा बाल उद्यान र मुभिङ ट्रेन पनि रहनेछ । महोत्सव कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टलको व्यवस्था गरिनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा निशुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालमा चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६ः३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।