गाई–गोरु र गोवर्धन पूजा आज एकै दिन 

२०८२ कार्तिक ५ बुधबार ०७:०५:०० मा प्रकाशित


नवलपरासी पूर्व ।  आज बुधबारका दिन गाई गोरु र गोवर्धन पूजा गरिँदै छ । निर्णायक विकास समितिले आज एकै दिन गाई गोरुको पूजाको साथै गोर्वधन पूजा गर्न सकिने जनाएको छ ।  लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरिन्छ  । गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ  ।

द्वापर युगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झना स्वरूप यो पर्व मनाइन्छ ।  भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठुलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ ।

 गोवर्धन पूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।  उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी देउसी खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ ।


आत्म पूजा र नेपाल संवतको आरम्भ पनि आजकै दिन परेको समितिले जनाएको छ । भोली कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत भोली बिहान ११ बजेर ३९ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।