गैँडाकोट इङ्गलिस स्कुलमा शिक्षक अभिभावक संघ गठन 

२०७९ कार्तिक १९ शनिबार १८:२२:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरको गैंडाकोट स्थित गैँडाकोट इङ्गलिस स्कुलको शिक्षक अभिभावक संघको अध्यक्षमा ध्रुुबप्रसाद अधिकारी चयन हुनुभएको छ । शनिबार विद्यालयको सभाहलमा सम्पन्न अभिभावकहरुको बैठकले अधिकारीको नेतृत्वमा तीन वर्षका लागि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको हो ।

संघको सदस्यमा रमेश काफ्ले, शारदा अधिकारी, शिवजंग श्रेष्ठ, विष्णु अर्याल, मुना श्रेष्ठ, राम प्रसाद शर्मा, फ्रान्सिना थापा र राजेन्द्र पौडेल रहेका छन् । विद्यालयका प्राचार्य हिरालाल अर्याल सदस्य सचिव तथा शिक्षक प्रतिनिधिका रुपमा कमला गुरुङ रहनुभएको छ ।

नव निर्वाचित अध्यक्ष अधिकारीले प्राप्त अवसरलाई विद्यालय तथा अभिभावक बीचको सम्बन्ध सेतुको रुपमा ब्यवस्थापन गर्ने बताउनु भयो ।

यसअघि विद्यालयले शिक्षक अभिभावक संघ गठनका लागि एक एजेण्डा राखी कक्षागत रुपमा अभिभावकहरुको भेला गरी समितिमा रहन इच्छुक ५१ जना अभिभावकहरुलाई प्रतिनिधिको रुपमा छनौट गरेको थियो । शिक्षक अभिभावक संघको गठन पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण भण्डारीको संयोजकत्वमा ब्यवस्थापन समितिको बैठक बसी कमल सुवेदीको संयोजकत्वमा नेत्र नारायण सिग्देल र कृष्ण प्रसाद कोइराला सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो ।

त्यस्तै शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष मिलिना अर्याल, भूमिश्वर शर्मा र सिर्जना शर्मा सम्मिलित शिक्षक अभिभावक संघ सल्लाहकार मण्डल समेत गठन गरेको छ ।