९६ वर्षिय तुलसीप्रसाद सुवेदीको ‘पुष्पाञ्जलि’ भजन संग्रह विमोचन

२०७९ कार्तिक १४ सोमबार १७:२४:०० मा प्रकाशित

गैँडाकोट । ९६ वर्षिय तुलसीप्रसाद सुवेदीको ‘पुष्पाञ्जलि’ भजन संग्रह विमोचन गरिएको छ । 
उहाँको यो दोस्रो कृति हो । वि.स. २०१० सालमा सुवेदीको पहिलो कृति ‘शिक्षा–दर्पण’ प्रकाशनमा आएको थियो । त्यस्को झण्डै ६० वर्षपछि अर्को पुस्तक आएको हो । ११५ पृष्ठको लोकलयमा आधारित ‘पुष्पाञ्जलि’ भजन संग्रह पुस्तकमा श्रीरामको गाथा, प्रह्लादको गाथा, धुनको गाथा, भगवान् श्रीकृष्णको लीला र भजन कीतर्नको महत्त्वबारे उल्लेख गरिएको छ ।  
विभिन्न भगवानका बारेमा साथै पौराणिक कथा वस्तुमा आधारित सहज रुपमा पढ्न मिल्ने लोकलय छन्दमा रचना गरिएको रचनाकार तुलसीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले छन्द ज्ञानमाला कविता संग्रह प्रकाशन गर्ने सोच रहेको बताउनुभयो । बागलुङको सर्कुवामा जन्मिनुभएका सुवेदी रुपन्देहीको गरगरे र नवलपुरको गैँडाकोटमा बस्दै आउनुभएको छ ।  
कालिका मन्दिर कालिका आश्रमको आयोजनामा गैँडाकोटमा आयोजित कृति विमोचन कार्यक्रममा डा. नारायणप्रसाद गौतमले रचनाकार तुलसीप्रसाद सुवेदीको रचनाले पाठक श्रोतालाई रुवाउन, हसाउन सक्ने क्षमता राख्ने मुख्य विशेषता रहेको बताउनुभयो । 
कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले सत्सङ्ग उपसमितिका पूर्व संयोजक रहेका तुलसीप्रसाद सुवेदीको ‘पुष्पाञ्जलि’ भजन संग्रह विमोचन हुँदाको खुसी व्यक्त गर्नुभएको थियो । उहाँले तुलसीप्रसाद सुवेदीले कालिका मन्दिर कालिका आश्रममा धेरै गुन लगाएको बताउनुभयो । 
कार्यक्रममा कालिका मन्दिर कालिका आश्रम सत्सङ्ग समितिका संयोजक इन्द्रमणी पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण ज्ञानु घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा कालिका मन्दिर कालिका आश्रमका सल्लाहकार ओमप्रसाद सापकोटा, चतुर्भुज पौडेल, पण्डित माधवप्रसाद चालिसे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न धार्मिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।