समानुपातिक सुची बन्द गर्ने प्रक्रियाप्रति नागरिक संस्थाहरुको आपत्ती 

२०७९ असोज १३ बिहीबार १९:४१:०० मा प्रकाशित


नवलपुर । राजनीतिक दलहरुले निर्वाचन आयोग समक्ष पेश गरेको समानुपातिक सुचीका सम्बन्धमा नागरिक संघसंस्थाको ध्यानाकर्षण भएको छ । उनिहरुले राजनीतिक दल भित्रको अन्तरपार्टी लोकतन्त्रको अभ्यासको कमीले गर्दा दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सुची आम मतदाता समक्ष पेश गर्न नसकेकोमा प्रश्न उठाएका छन्  । निर्वाचन आयोगले बन्द सुचीलाई बन्द गर्ने प्रक्रियाप्रति पनि उनिहरुले आयोगले बढावा दिएको बताएका छन् ।  समानुपातिक सूचिका सन्दर्भमा मतदाताले थाहा पाउने जानकारी पाउने हक रहेपनि त्यसमा दलहरुले वेवास्था गरेको र आयोग पनि सचेत नरहेको नागरिक संस्थाको गुनासो छ । दल र निर्वाचन आयोगको कार्य लोकतन्त्रका लागि राम्रो नभएको ठहर गरेका छन् । 


राजनीतिक दलहरुको आन्तरिक संगठन संक्रिय र चलायमान बनाउन समानुपातिक उम्मेदवारको सुची गोप्य राख्ने कार्य दलहरुको कमजोरी ढाक्ने कला भएको बताएका छन् । उक्त कार्यले मतदाताको थाहा पाउने अधिकारलाई कुण्ठित गरेको नागरिक संस्थाको आरोप छ ।  संयुक्त विज्ञप्ती जारी गर्दै उनिहरुले समानुपातिक निर्वाचन प्रणाली सबै बर्ग र क्षेत्रको उचित प्रतिनिधित्व हुनुपर्नेमा शिर्ष नेता, सामाजिक ठालु र राजनीतिक ठालुहरुको रजाईं भएको भन्दै उनिहरुले विरोध गरेका छन् । ऐक्यबद्धता पत्रमा निर्वाचन आचारसंहिता पालनामा दलहरु थप जिम्मेवार हुनुपर्ने उनिहरुले बताएका छन् । सयपत्री समाज, पोखरा, चाँदनी नेपाली बुटवल, पाल्पा डेभलपमेण्ट सोसाइटि पाल्पा, माहुरी होम कपिलवस्तु र विजय विकास स्रोत केन्द्र नवलपुरले संयुक्त विज्ञप्ती जारी गर्दै एक्यबद्धता जनाएका छन् ।