दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा 

२०७९ असोज १३ बिहीबार १९:३८:०० मा प्रकाशित


नवलपुर । भोली नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध रहनुभएको छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्यपति तारकासुरको वध गर्नुभएको थियो । 


स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त हुनुहुन्छ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान, एवं पुष्पहरू प्रिय रहेको शास्त्रमा बताइएको छ ।


दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिएको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिनुभएको छ । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नोे तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।