जल संवाद पछि बन्यो सञ्जाल 

२०७९ असोज ६ बिहीबार १७:१८:०० मा प्रकाशित

गैँडाकोट । नारायणी नदीमा हुने प्रदुषण, जलचरको संरक्षण र पानी सुद्धिकरणमा सरोकारवालाहरुलाई सचेत गराउन गैँडाकोटमा ‘नारायणी नदी तथा जलाधार संरक्षण सञ्जाल’ गठन गरिएको छ । सहमति संस्थाले बिहीबार आयोजना गरेको तेस्रो जल संवाद कार्यक्रमपछि संरक्षणकर्मी अपिल घिमिरेको संयोजकत्वमा १७ सदस्यीय सञ्जाल तर्दथ समिति गठन गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ति कोइरालाले पानीका मूल, खोला नाला सुक्दै जान थालेको यस अवस्थामा पानी जोगाउन, वन्यजन्तुको संरक्षण एवं भावी पुस्ताका लागि व्यवस्थापन गर्न खोज्नु सरहानिय कार्य रहेको बताउनुभयो । पानी लगायत प्राकृतिक स्रोतबाट अवसर र सम्भावना प्रशस्त रहेपनि भुक्षय गराउने जस्ता उत्तिकै चुनौती रहेकोले व्यवस्थापन महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो । 
कार्यक्रममा सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले सहमतिले नदी तटिय क्षेत्रका बासिन्दा र सरोकारवालाहरुलाई जोड्दै पानी संरक्षण र सदुपयोगमा जोड दिएको बताउनुभयो । सञ्जालले पानी संरक्षणमा दवाव सिर्जना गर्न एवं दीगो पानी व्यवस्थापनमा योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रमको सहजिकरण गर्दै सहमतिको सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश वस्ताकोटीले परियोजना अन्तर्गत भईरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले पानी प्रयोग गर्ने तर पानी रिचार्ज हुने वातावरण नबनाउने हो भने भोलिका दिनमा समस्या आउन सक्नेतर्फ सचेत गराउनुभएको थियो । 

कार्यपत्र प्रस्तुत गर्दै भरतपुर महानगरपालिकाका अधिकृत जानुका केसीले महानगरपालिकाले करिब डेढ दर्जन तालतलैया संरक्षण गरिरहेको बताउँदै डेढ करोडको हाराहारीमा बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले २८ वटा सवारी साधन मार्फत फोहर संकलन र व्यवस्थापन गर्दै आएको बताउँदै दीगो व्यवस्थापनका लागि काम भइरहेको बताउनुभयो । 

वोटलर्स नेपाल (तराई) लिमिटेडका प्रतिनिधि बिक्रम केसीले उद्योगले डिप बोरिङ गरी निकालिएको पानीलाई प्रयोगपछि प्रशोधन गरी पुनः प्रयोग गर्ने गरिएको बताउनुभयो । आकाशबाट परेको पानी संकलन एवं पोखरी निर्माण गरी पुनः रिचार्ज गर्ने व्यवस्था मिलाएको बताउनुभयो । 

औधोगिक क्षेत्रमा भएको फोहर व्यवस्थापन, पानी व्यस्थापन र सुद्धिकरणबारे हेटौँडाबाट अशोक यादवले भर्चुअल माध्यमबाट जानकारी गराउनुभएको थियो । 

राप्ती नदी सरसफाई अभियानका संयोजक अपिल घिमिरेले ८ वर्षदेखी नदीमा फालिएका प्लाष्टिक र सिसाजन्य फोहर संकलन गरि विसर्जन गर्ने गरेको अनुभव सुनाउनुभएको थियो । उहाँले लेउ र पानी भित्रका वनस्पतीको महत्त्वबारे चेतना अभिवृद्धि गर्न सकेमात्र पानी प्रदुषण कम हुने विश्वास व्यक्त गर्नुभयो । 

डब्लु डब्लु एफका पानी कार्यक्रमका अधिकृत करुण देवानले नारायणी नदीको सभ्यता जोगाउन सबै एकाकार हुनुपर्ने बताउँदै नदी प्रचुर सम्भावनाको क्षेत्र रहेको बताउनुभयो । 

प्रगतिनगर खानेपानी संस्थाका सचिव ईन्द्रमणी भुषालले पानी सुक्दै जान थालेको बताउँदै मूहान संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।  

ग्रिन पिक्सेलका परामर्शकर्ता बाशुदेव न्यौपानेले सञ्जाल सामाजिक नेटवर्कको शुरुवाती अवस्था भएको बताउँदै पानी सम्बन्धि चेतना प्रवाह, प्रभाव मूल्याङ्कन गरि न्यूनिकरणका कार्यक्रम र नीति निर्माणमा दवाव दिनुपर्नेमा जोड दिनुभयो ।      

सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले वन क्षेत्रमा एक सामुदायिक वन एक सिमसार क्षेत्र निर्माण भइरहेको बताउँदै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । 

जयश्री वनका अध्यक्ष टोलनाथ घिमिरेले सामुदायिक वन पानी संरक्षणमा जुटेको बताउँदै सहकार्य र सहयोगको अपेक्षा राखेको बताउनुभयो । 

कार्यक्रममा सहमतिका कार्यसमिति सदस्य एवं परियोजनाका सल्लाहकार दयासागर सुवेदीले धन्यवाद मन्तव्य व्यक्त गर्दै सबैबाट सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभयो । 

डब्लु डब्लु एफसँगको साझेदारीमा परियोजना मार्फत नारायणी नदीमा प्रदुषण कम गर्ने, नदी तटिय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने लगायतका कार्यक्रम गर्दै आएको परियोजनाका सामुदायिक सहजकर्ता क्षितिजराज शर्माले जानकारी दिनुभयो ।