गैँडाकोटमा भूपू सैनिक महिला समूहद्वारा सयपत्री फूलखेती, स्थानीय बजारमा बिक्री वितरण सुरु

गैँडाकोट । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रवर्धनमा भूपू सैनिक जनकल्याणकारी संस्था महिला समूहले गैडाकोटमा सयपत्री फूलखेती गरेको छ । समूहले ६ कट्ठा जग्गा भाडामा लिएर सयपत्री फुल खेती गरेको हो । नेपालीहरूको महान चाड, शुभ दीपावलीको अवसरमा संस्थाले अहिले सयपत्री फूल बिक्री वितरण सुरु गरेको छ । गैंडाकोट नगरपालिका कृषि शाखाले फूलको बिउमा अनुदान दिएको हो । संस्थाले अहिले फूलको माला बनाएर स्थानीय बजार तथा राजधानीसम्म बिक्रीबितरण गरिरहेको छ । महिला समूहले अहिले फूलको मालाको बिक्री मूल्य होलसेलमा ८० रुपैयाँ तोकेको छ भने किलोको रु ४०० मा बिक्री वितरण गर्ने भएको छ ।
स्वतन्त्र भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वेदबन्दु रेग्मीले भूतपूर्व सैनिक महिला समूहको मेहनतले सयपत्री फूल बिक्री गर्न सम्भव भएको बताउनुभयो। उहाँले फूलखेतीलाई प्रवद्र्धनको लागि सहकारीले सहयोग गरेको पनि बताउनुभयो।
गैंडाकोट नगरपालिका वार्ड नम्बर ८ का वडाअध्यक्ष प्रेम सापकोटाले जग्गा भाडामा लिएर महिला समूहले गरेको फूल खेतीलाई सहयोग गर्ने बताउनुभयो। चाडपर्व लगायत अन्य कार्यक्रममा आफ्नै ठाउँमा उत्पादन भएको सयपत्री फूल र माला प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
स्वतन्त्र भूतपूर्व सैनिक साकोसका प्रमुख कार्यकारी अधिकृत शिव पौडेलले तिहार नजिकिँदै गर्दा बारीमा फूल फुलिरहेको छ। गैंडाकोट बासीले सस्तो र गुणस्तरीय फूलको लागि सम्झन आग्रह गर्नुभयो।
गैडाकोट नगरपालिका कृषि शाखामा कार्यरत निशा खड्काले नगरपालिकामा फूलखेती प्रवद्र्धनका लागि नगरपालिकाभित्रका समूहहरूलाई फूलको बीउमा अनुदान दिएको बताउनुभयो । उहाँले दिदीबहिनीहरू फुलखेतीमा बढी उत्साहित देखिएको बताउनुभयो।
भूपूसैनिक जनकल्याणकारी महिला समूहको सचिव संगीता अर्यालले हामीले लगातार अहिलेसम्म तीन वर्ष फुलखेती गरिरहेको बताउनुभयो। उहाँले नगरपालिकाले फुलखेती सम्बन्धी तालिम दिएपछि फूलखेतीमा आकर्षित भएको बताउनुभयो। उहाँले सुरुमा दुई कट्ठाबाट सुरु गरी अहिले ६ कट्ठामा फूल खेती गरेको बताउनुभयो।
भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको कोषाध्यक्ष मनिषा पाटामगरले भन्नुभयो नगरपालिकाबाट हरेक वर्ष बिउ मल मा अनुदान दिएर सहयोग गर्नुभएको छ। आगामी दिनमा पनि फुल खेतीको लागि थप सहयोग हुनेमा आशावादी रहेका छौं। उहाँले यो वर्ष फूलखेतीमा करिब ४५ हजार खर्च भएको बताउँदै यो वर्ष करिब २ लाखको आम्दामी गर्ने बताउनुभयो ।
भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको उपाध्यक्ष बेदबहादुर रोकाया ले महिला समूह को कडा मेहनतका साथ राम्रो फूलखेती उत्पादन भएको बताउनुभयो। उहाँले जति फूल उत्पादन भए पनि बिक्री वितरणको कुनै समस्या नरहेको बताउनुभयो।
गैडाकोटका भूपू सैनिक महिला समूहका दिदीबहिनीहरूले देखाएका उदाहरणले “गरे के हुँदैन” भन्ने भनाइलाई सार्थक बनाएको छ। सीप र श्रमको सदुपयोग गर्दै सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्न सफल उनीहरू अन्य महिला समूहका लागि प्रेरणाको स्रोत बनेका छन्। नगरपालिकाको कृषि शाखाको बिउमा अनुदान, स्वतन्त्र भूतपूर्व साकोसको प्रवद्र्धन र महिलाको आत्मविश्वासको संयोजनले स्थानीय उत्पादनमा आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेको छ । अरु दिदीबहिनीहरूले पनि आत्मनिर्भर बन्नका लागी यस्तै सीपमूलक तालिम लिएर आफ्नो जीविकोपार्जन गर्न जरुरी छ ।