
गैँडाकोट । नवलपुरका एक जना बाहेक सबै जनप्रतिनिधिलाई जरिवाना हुने भएको छ ।
निर्वाचन सम्बन्धी कानून तथा आचार संहिता बमोजिम निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई कारवाही हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार नगर प्रमुख र उप प्रमुख पदका उम्मेदवारहरुलाई जनही चार लाख पचास हजार रुपैयाँका दरले जरिवाना हुने भएको हो । त्यस्तै नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई दुई लाख रुपैयाँका दरले कारवाही हुने छ ।
त्यस्तै गाउँपालिका प्रमुख र उप प्रमुखलाई तीन लाख पचास हजार रुपैयाँका दरले, गाउँपालिका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई एक लाख पचास हजार रुपैयाँका दरले जरिवाना गर्ने भएको हो ।
वौदिकालीका वडा सदस्य देउमाया रुचालले बाहेक निर्वाचन खर्च विवरण बुझाएका अन्य उम्मेदवारले पनि समयमा नबुझाएका कारण जरिवाना गर्न लागिएको हो । केहीले समयमा बुझाएको दावी गर्दै जिल्ला निर्वाचन कार्यालयले समयमा नै प्रविष्ट नगरेको आरोप लगाएका छन् । यस विषयमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । समयामा खर्च विवरण नबुझाउने, तोकिएको समयपछि बुझाउने र सोधिएको स्पष्टिकरणमा समते चित्त बुझ्दो र सन्तोषजनक जवाफ नदेखिएकोले कारवाही प्रक्रिया अघि बढाईएको उल्लेख गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले आयोगबाट परिपत्र भएपछि कारवाही प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार जिल्लाका एकजनाबाहेक अन्य सबैलाई कारवाही हुने संकेत देखिएको छ । तोकिएको समयमा जरिवाना नतिरे पद समेत खारेज सम्म हुन सक्ने छ ।