मालपुरमा झाम्टा गीत नृत्य विशेष कार्यक्रम 

२०७९ भदौ ३१ शुक्रबार १८:४६:०० मा प्रकाशित

गैँडाकोट । जितिया पर्वको अवसरमा गैँडाकोटमा पाँचौ नगर स्तरीय थारु महिला जितिया झाम्टा गीत नृत्य विशेष कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारिणी सभा गैँडाकोटको आयोजनामा गैँडाकोट १२ मालपुरको जमार (खेल मैदान) मा भएको कार्यक्रममा २० समूहले प्रदर्शन गरेका थिए । थारु कल्याणकारी संघ गैँडाकोटका सल्लाहकार फौदबहादुर महतोले १५ वटा समूहले झाम्टा र ५ समूहले स्टिक डान्स प्रस्तुत गरेको जानकारी दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले नेपाल संस्कृतीमा धनी रहेको बताउनुभयो । हरेक जातजातिको आआफ्नै संस्कृती रहेको र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि नगरपालिकाको तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । 

थारु कल्याणकारिणी सभा गैँडाकोट नगर समितिका अध्यक्ष लक्ष्मिप्रसाद थारुले थारु संस्कृती जोगाईराख्न हरेक वर्ष कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले यसपटक सबै समूहलाई सहयोग पुग्ने हेतुले प्रतियोगिता भन्दा पनि सहभागिताका आधारमा प्रोत्साहन वापत रकम हस्तान्तरण गरिएको बताउनुभयो । 

कार्यक्रममा स्वागत गर्दै थारु कल्याणकारी संघ गैँडाकोटका उपाध्यक्ष हेमकुमारी महतोले यसले संस्कृतिको जोगेर्ना र पुस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो । कोषाध्यक्ष रोमकुमारी महतोले थारु महिलाको महान चाडका रुपमा रहेको जानकारी दिनुभयो ।   

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य विरेन्द्र चौधरी, निवर्तमान जिल्ला अध्यक्ष गणेशमान महतो, सल्लाहकार रुपनारायण महतो, १२ का वडाअध्यक्ष चक्रपाणी कंडेल, आदिवासी जनजाती महासंघ गैँडाकोटका अध्यक्ष ललित श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।  

जितिया पर्वमा आउँदो आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।