डेंगुबाट बच्न पूर्व सतर्कता जरुरी

२०७९ भदौ २१ मंगलबार १२:३८:०० मा प्रकाशित


डा. दिनेश लामिछाने 
मेडिकल अधिकृत
गैँडाकोट नगर अस्पताल

डेंगु एक प्रकारको ज्वरो हो । डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । यो भाइरस मानव शरीरमा प्रवेश गरेपछि डेंगु ज्वरोको लक्षणहरु देखा पर्ने गर्छ । 
डेंगु सार्ने लामखुट्टेले पोखरी या अन्य कुनै तालमा भन्दा पनि स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । 
डेंगु भएका विरामीको शरीरमा सेतो रक्तकोसीकाको कमीका कारणले शरीरको विभिन्न भागको छालामा रगतको सानोसानो धब्बाहरु देखापर्ने समस्याहरु हुनेगर्छ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्ने सम्भावना धेरै हुन्छ । गैँडाकोट नगरपालिकामा पनि यो उच्च देखिन्छ । हामीले अहिलेनै सावधानी अपनाए यो फैलिदैन ।
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विविरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्नेगर्छ ।
स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नेमा जोड दिनुपर्छ । साथै घरको वरपर सफा राख्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । त्यस्तै सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना बालबालिकालाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । यसैगरी अहिलेको समयमा लामखुट्टेको टोकाइबाट बच्नका लागि प्रयोग गरिने मलम पनि दल्न सकिन्छ । 
कुनैपनि समस्या परिआए के गर्ने भन्नु भन्दा समस्या नै आउन नदिने उपाय उचित हुन्छ । लामखुट्टेलाई घरमा पस्न नदिनका लागि घरका झ्याल ढोकामा जाली लगाउने, घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ । (संवाद्दाता रिना चौधरीले गर्नुभएको कुराकानीमा आधारित ।)