आज हरिपरिवर्तिनी एकादशी

२०७९ भदौ २१ मंगलबार ०६:२०:०० मा प्रकाशित

नवलपुर । आज हरिपरिवर्तिनी एकादशीको उपासना गरिदैछ । यस एकादशीलार्ई जयन्ती एकादशी र वामन एकादशी भनेर पनि जान्ने गरिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो । आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागकोपिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुकोआज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गर्ने प्रचालन रहेको छ । 

त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि, विष्णु भगवानका परमभक्त थिए । तर उनले इन्द्रसित पूर्वाग्रह थियो । जसकाकारण इन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । वृहस्पतिसहित इन्द्रादी देवता विष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन विष्णुले आफ्नो पाँचौ अवतारका रूपमा वामन रूप धारण गरेका थिए । र, तेजस्वी बलिसँग आफ्नो पाइताला राख्न तीन पाइला भूमिको याचना गरेका थिए ।

महाबलिले ती तीन पाइला जमीन आफ्ना लागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गरे । तर विष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भू–लोकमा पद, भूवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, महःलोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोश्रो पद स्वर्गलोकमा राखे । अब तेस्रो पद कहाँ राखुँ भनी बलिलाई सोधेँ । अनि बलिले वाचास्वरूप आफ्नो शीर झुकाए र विष्णुले आफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिनुभयो । विष्णुभक्त बलिले पाताल लोकमा पनि विष्णुसँगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा विष्णुस्वरूप रहेएको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको हो ।