एसइइ उत्तीर्ण एक हजार बढी विद्यार्थीलाई सम्मान 

२०७९ श्रावण २१ शनिबार १७:२९:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा २०७८ सालमा एसइइ उत्तीर्ण १ हजार ३ सय ५१ विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैँडाकोट र शुसिल कोइराला सोसलिष्ट युथ सर्कल नवलपुरको आयोजनामा गैँडाकोटमा एसइइ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसले अब आफ्ना कमी कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्ने दिन आएको बताउनुभएको छ । गैँडाकोटमा २०७८ सालमा एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आगमी चुनावमा पहिले भएका कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको हो । सरकारले मंसिर ४ मा गर्न लागेको प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि गठबन्धन गर्नुको अरु विकल्प नभएको बताउनुभएको छ । 

राजनीति देशको मुल नीति भएकाले यसलाई विद्यार्थीले बुझन जरुरी रहेको उहाँले बताउनुभयो । राजनीति गरे पनि राजनीति के हो ? र कसरी गर्ने ? भन्ने कुरा बिद्यार्थी जीवनबाटै जान्न जरुरी रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो। “ ठुलाठुला व्यवसायी पनि व्यावसायिक जीवनपछि राजनीतिमा आउँछन्, डाक्टर, कलाकार, शिक्षक सबै अन्तिममा राजनीतिमा नै आउँछन् । यसको मतलब देश परिवर्तन गर्न राजनीति जरुरी छ ।”

राजनीति एक्लै व्यक्तिले गरेर नहुने भन्दै पोखरेलले पार्टी र दलबाट मात्र देशको विकास र परिवर्तन सम्भव भएको बताउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले लोकतन्त्रको स्थापनाका लागि नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताउनुभएको छ । साथै पौडेलले सरकारमा बहुमत ल्याउनका लागि गठबन्धन गरेर अगाडी बढेको बताउनुभएको छ । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बिद्यार्थीले आफ्नो क्षमता र दक्षताको आधारमा आगामी यात्रा तय गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ती कोइरालाले नेपाली कांग्रेसलाई समस्या पर्दा बलियो बनाउन नेपाल बिद्यार्थी संघले सधै साथ दिदै आएको बताउनुभएको छ । विद्यार्थीको सम्मानका लागि गरिएको यो कार्यक्रमले उनीहरुलाई हौसला दिएको बताउनुभएको छ । 

नपाली कांग्रेसका महासमिति सदस्य गणेश सापकोटाले अब देशको नेतृत्व युवाले गर्नुपर्ने समय आएको बताउनु भएको छ । उहाँले डाक्टर शशांक कोइराललाई उहाँको सपना र योजना आफुले पुरा गर्ने बताउँदै जिम्मेवारी हस्तान्तरण गर्न पनि आग्रह गनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले कांग्रेसको इतिहास विद्यार्थीको भविष्यसँग जोडिएको बताउनुभएको छ । शिक्षामा भएको विभेद अन्त्यदेखी विद्यार्थीको पक्षमा सधै आवाज उठाउदै आएको बताउनुभएको छ । 
कार्यक्रममा सुशिल कोइराला सोसलिष्ट युथ सर्कलको केन्द्रीय अध्यक्ष ताराकाजी थापा, नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति बालकृष्ण घिमिरे, क्षेत्र नम्बर १ का सभापति अमृत भट्टचन, गैँडाकोट नगर अध्यक्ष वद्री सापकोटा, नेपाली बिद्यार्थी संघ नवलपुरमा जिल्ला सभापति राजेश पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।