गैँडाकोटमा स्नातक गरेका शिक्षकको भन्दा १२ सरहका शिक्षकको पढाइ राम्रो

२०७९ श्रावण १९ बिहीबार १८:५२:०० मा प्रकाशित


गँैडाकोट । गैँडाकोटमा धेरै पढेका शिक्षकले भन्दा कम शैक्षिक योग्यता भएका शिक्षकले राम्रो पढाएको अध्ययनले देखाएको छ । स्नातक तहको शिक्षा प्राप्त गरेका भन्दा १२ वा सो सरह उत्तीर्ण भएका शिक्षकले अध्यापन गराउने विद्यार्थीको शैक्षिक उपलब्धी बढी देखिएको छ । गँैडाकोट नगरपालिकाको कक्षा ५ को स्तरीकृत परीक्षाको गणित र विज्ञान विषयको नतिजा विश्लेषण प्रतिवेदनका अनुसार यस्तो देखिएको हो । गणित विषयमा १२ सरहका शैक्षिक योग्यता भएका शिक्षकले अध्यापन गराउँदा समग्रमा ३९ शैक्षिक उपलब्धी रहेको छ भने स्नातक शैक्षिक योग्यता भएका शिक्षकले अध्यापन गराउँदा ३२ दशमल ६ शैक्षिक उपलब्धी रहेको छ । सामुदायिक विद्यालयमा १२ सरहको शैक्षिक योग्यता भएको शिक्षकले अध्यापन गराउँदा ४१ दशमलब ८ शैक्षिक उपलब्धी रहेको छ भने स्नातक सरहको ३० र स्नातक भन्दा बढीको शैक्षिक योग्यता भएका शिक्षकले अध्यापन गराउँदा ३९.१ शैक्षिक उपलब्धी देखिन्छ । 


संस्थागत विद्यालय अन्तर्गत पनि माथिल्लो तहको शैक्षिक योग्यता भएका शिक्षकले भन्दा पनि तल्लो तहका शिक्षकले अध्यापन गराउँदा सिकाइ उपलब्धी विद्यार्थीमा राम्रो देखिएको छ ।  संस्थागत अन्तर्गत पनि १२ सरहको शिक्षकले पढाउँदा ३६ दशमलब ८ शैक्षिक उपलब्धी देखिन्छ भने स्नातक तह सरहको शिक्षकबाट विद्यार्थीको सिकाइ ३४ दशमलब ७ रहेको छ । 


तुलनात्मक रुपमा हेर्दा माथिल्लो योग्यता भएका शिक्षकले भन्दा तल्लो तहको शैक्षिक योग्यता भएका शिक्षकले पढाएको राम्रो उपलब्धी देखिएको छ । माथिल्लो तहको शैक्षिक योग्यता भएका शिक्षकले कम मेहनत गरेर अध्यापन गराएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ । 


यस्तै विज्ञान विषयमा भने १२ सरहको भन्दा स्नातक सरहको शैक्षिक योग्यताको शिक्षकले अध्यापन गराउँदा विद्यार्थीमा राम्रो उपलब्धी देखिन्छ । १२ सरहको शिक्षकले  अध्यापन गराउँदा ३१ दशमलब २ प्रतिशत शैक्षिक उपलब्धी रहेको छ भने स्नातक सरहको शिक्षकले अध्यापन गराउँदा शैक्षिक उपलब्धी ४२ दशमलब १ प्रतिशत रहेको छ । 


यस्तै तालिम प्राप्त शिक्षकको शिक्षण कार्यले विद्यार्थीमा सिकाई उपलब्धी राम्रो हुने देखिएको छ । गणित विषयमा तालिमप्राप्त शिक्षकको ३६ दशमलब ५ र तालिम नलिएका शिक्षकको उपलब्धी २८ दशमलब ६ देखिएको छ । शिक्षण कार्यका लागि कक्षा कोठा जानुअघि शिक्षक तालिमप्राप्त हुनुपर्ने अध्ययनले देखाएको छ ।