एक लाख सदस्य जोडिएको विकू ३२ औँ वर्ष प्रवेश गर्दै

२०७९ श्रावण १९ बिहीबार १४:१७:०० मा प्रकाशित

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड ३२ औँ वर्षमा प्रवेश गर्दैछ । विकूले ३२ औँ बार्षिकोत्सवको अवसरमा वर्णमाला विमोचन देखि ट्राफिक सचेतनाका कार्यक्रम गर्ने भएको छ । ३१ बर्ष अघि स्थापना भएको सहकारीले बिहीबार पत्रकार भेटघाट कार्यक्रम गर्दै वित्तीय सेवा संगै गैरवित्तीय, नवीनतम प्रविधिमैत्री सेवा र सामाजिक सुरक्षा तथ रुपान्तरणका कार्यक्रम सञ्चालन गर्दै सदस्यको जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउन क्रियाशील रहेको बताएको छ । विकू सहकारीमा १ लाख बढी शेयर सदस्य रहेका छन् । कूल शेयर सदस्यमध्ये ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष सदस्य रहेका छन् ।

विकूको शेयर पुँजी ९० करोड ९४ लाख रहेको छ । विकूमा जगेडा तथा अन्य कोषहरुमा ७८ करोड ६६ लाख रहेको छ । विकूले ७ अरब २ करोड ४७ लाख बचत संकलन गरेको छ भने ७ अरब २० करोड ६१ लाख ऋण लगानी गरेको छ ।  ५० पैसाको बचत संकलनबाट सुरु भएको विकूको ३१ वर्षको दौरानमा ९ अरब ३ करोड ३४ लाख कुल सम्पत्ती पुगेको छ । विकूले चितवनमा ४ सेवा केन्द्र र नवलपुर नवलपरासीमा १९ वटा गरि २३ वटा सेवा केन्द्रबाट सेवा दिदै आइरहेको छ । 


नीति विधि र प्रविधिको जगमा उभिएको छ विकू सहकारी –  अध्यक्ष सापकोटा

विकू सहकारीको ३२ औँ वार्षिकोत्सवको पूर्वसन्ध्याको पत्रकार भेटघाट कार्यक्रम । तस्वीर माया कंडेल 

 

संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले विकास भनेको आवश्यकताको पहिचान भएको बताउदैँ आवश्यकताले नै विकूलाई जन्म दिएको बताउनुभयो । संस्थालाई निरन्तर अघि बढाउन व्यक्तिवाद नभइ नीति विधिको आवश्यकता पर्ने बताउनुभयो । विकू आगामी दिनमा सदस्यमैत्री र प्रबिधि मैत्री भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकू बर्णामाला हरेक व्यक्तिलाई दैनिक जिवनलाई सरल र सहज बनाउने खालको भएको अध्यक्ष सापकोटाले बताउनुभयो । 

लेखा संयोजक कमल सुवेदीले विकू देशका अन्य सहकारी भन्दा फरक र सदस्यमैत्री भएको बताउनुभयो । विकूको पारदर्शीता, वित्तीय र गैह् वित्तीय सेवाले सदस्यलाई आकर्षण गरेको सुवेदीको भनाइ छ । 

संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले कोभीडका कारण विकूले अघिल्ला २ वर्ष सदस्यमाझ खुसी साट्न नपाएको बताउँदै यसवर्ष खुसीको अवसरमा सदस्यसँग विविध कार्यक्रम गरेर खुसीयाली साटासाट गर्ने बताउनुभयो । 

विकू बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले आर्थिक सामाजिक विकासको क्षेत्रमा विकू अब्बल संस्थाको रुपमा स्थापित हुँदै  ३१ वर्ष देखि अविछिन्न सदस्यमुखि सेवा दिदै आएको बताउनुभयो । विकू १ लाख बढी सदस्यहरुको साझा संस्थाको रुपमा स्थापित भएको छ । 

बचतमा १३ प्रतिशत र ऋणमा १६ प्रतिशतसम्म ब्याजदर


नेपालकै उत्कृष्ट सहकारी संस्थाको छवि बनाएको विकू सहकारीले अहिले प्रतिव्यक्ति ऋण लगानी २ करोड रुपैँयासम्म गर्ने गरेको छ । विकूबाट व्यवसाय दर्ताको आधारमा ५ लाख सम्म बिना धितो ऋण लिन सकिन्छ भने ३ जना सदस्य जमानीमा २ लाख सम्म व्यक्तिगत प्रयोजनको लागि ऋण लिन सकिने व्यवस्था मिलाएको छ । विकूले १३ देखि १६ प्रतिशतसम्मको ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । उत्पादनमूलक व्यवसायका लागि १३ प्रतिशत ब्याजदर र अनुत्पादक क्षेत्रका लागि १६ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले बताउनुभयो । पौडेलका अनुसार विकूले कुल ऋण लगानीमा अनुत्पादक क्षेत्रमा १९ प्रतिशत, उत्पादक क्षेत्रमा ४२ प्रतिशत र व्यपार तथा व्यवसायिक क्षेत्रमा ३९ प्रतिशत ऋण लगानी गरेको छ । अनुत्पादक क्षेत्रको लगानी घटाउँदै लिएर जाने रणनीतिमा संस्था रहेको विकूका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो । विकूबाट २० लाख सम्म ९ प्रतिशतमा कृषि ऋण प्राप्त हुनेछ । शेयर सदस्यको परिवारमा कुनै भवितव्य तथा उपचारका लागि ५० हजार सम्म १ महिनाको लागि निव्र्याजी पाइने समेत विकूले व्यवस्था मिलाएको छ । विकूले निक्षेपमा ७ देखि १३ प्रतिशत सम्म ब्याज दिने गरेको छ । सामान्य बचतमा ७ प्रतिशत तथा मुद्धति बचतमा १३ प्रतिशतसम्म ब्याज दिने व्यवस्था रहेको पौडेलले बताउनुभयो । 


प्रविधिमैत्री बन्दै विकू सहकारी 


नेपालमा नै सर्वप्रथम सहकारी क्षेत्रमा एटिएम सेवा संचालनमा ल्याएको विकूको एटिएम कार्ड  नेपाल भरि जुनसुकै बैंकबाट सेवा लिँदा रकम नलाग्ने पौडेलले बताउनुभयो । विकूले आफ्नो सेवा क्षेत्रभित्र अहिले ६ स्थानमा एटिएम आउटलेट राखेको छ ।  विकूले नेपालमा नै सर्वप्रथम मोवाइल भ्यान मार्फत बैंकिङ सेवा संचालनमा ल्याएको छ । मोबाइल बैंकिङ्ग सेवा मार्फत घरमा बसि बसि मोबाइल रिचार्ज, टेलिफोन, बिजुली, पानीको बील भुक्तानी गर्न मिल्ने व्यवस्था रहेको छ । विकूले एसियाली स्तरको एक्सेस ब्राण्ड ६ पटक र मिक्स मार्केट अन्र्तराष्ट्रिय अमेरिकाद्वारा फाइब स्टार प्राप्त गरेको छ ।


विकूमा विपद् व्यवस्थापन गृहको समुद्घाटन

विकूमा विपद् व्यवस्थापन गृहको समुद्घाटन गर्दै विकूका अध्यक्ष ओमप्रसाद सापकोटा । तस्वीर ः श्रीधर उपाध्याय

 

विकू साकोसले विहिबारबाट केन्द्रिय कार्यालय परिसरमा विपद् व्यवस्थापन गृह सञ्चालनमा ल्याएको छ । विकू साकोसका अध्यक्ष ओमप्रसाद सापकाटाले गृहको उद्घाटन गर्दै विपदको समयमा विपद् गृहमा भएका सामग्रीको सहायताले काम गर्न सकिने बताउनुभयो । यस गृहमा फायर सेफ्टी, बाल्टी, गैँची, बेल्चा, पञ्जा, टोपी, बाल्टीन लगायका विपद उद्वारमा आवश्यक सामग्री राखिएको छ ।  


विकूका वार्षिकोत्सवका कार्यक्रमहरु ः वर्णमाला विमोचन देखि ट्राफिक सचेतना

विकू सहकारी आगामी भदौ ५ गते ३२ आँै वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवका अवसरमा साउन २१ गते कर्मचारीहरु बीचमा चम्चा दौड, मोटरसाइकल स्लो रेस, फुटबल र नृत्य प्रतियोगिता गर्ने भएको छ । यस्तै साउन ३० र ३१ गते  स्कुलस्कुलमा विकू कार्यक्रम सञ्चालन रहेका विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता हुनेछ । त्यस्तै भदौ १ गते कावासोती, गैँडाकोट र टाँडीमा ट्राफिक सचेतना, भदौ २ गते देवघाट बृद्धाश्रममा र मध्यविन्दु अस्पतालमा बृद्ध तथा विरामीलाई फलफूल र खाना वितरण, भदौ ३ गते गैँडाकोट देखि चितवन पर्सासम्म मोटरसाइकल प्रभात फेरी, भदौ ४ गते हर्कपुर र कावासोतीमा विहान ७ बजेदेखि रक्तदान, भदौ ५ गते म्यूजिकल चियर विहान १० बजे, समापन समारोह बर्णमाला विमोचन, पुरस्कार प्रदान र सोही दिन साँझ दीप प्रज्ज्वलनको कार्यक्रम हुने सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।