कुपोषण पहिचानका लागि आधारभुत स्वास्थ्य केन्द्रको अभियान

२०७९ श्रावण १६ सोमबार १६:२३:०० मा प्रकाशित

गैँडाकोट । कुपोषणमुक्त गैँडाकोट बनाउनका लागि अभियान नै सञ्चालन गरिएको छ ।

आधारभुत स्वास्थ्य केन्द्र गैँडाकोट ४ ले आईतबार मात्रै ६३ जना बच्चाको एकसाथ परिक्षण गरेको थियो । जसमध्ये ४ जनामा कुपोषणको संकेत देखिएको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख टुकराम सुवेदीले जानकारी दिनुभयो । बच्चाको तौल, पाखुराको नाप र उचाईका आधारमा परिक्षण कार्य अघि बढाइ अभिभावकलाई सचेतना प्रदान गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हरियो, पँहेलो र रातो संकेत दिई परिक्षण गरिएको थियो । ६३ जनाको परिक्षण गरिएकोमा १ वर्षमुनिका २८ जना मध्ये २६ जना हरियो र २ जना पँहेलोमा परेका थिए । त्यस्तै २ वर्षमुनिका १४ जनामध्ये १२ जना हरियो र २ जना पहेलोमा परेका थिए । २ देखी ५ वर्ष सम्मका २१ जना सबै हरियोमा परेका थिए । हरियो राम्रो, पँहेलो कुपोषण उन्मुख एवं रातो कुपोषणको संकेत रहेको उहाँले बताउनुभयो ।

कुपोषण उन्मुखलाई स्वास्थ्य चौकीमा पोषिलो खानाका लागि सिफारिस गरिएको सुवेदीले जानकारी दिनुभयो । कुपोषित बच्चाको अवस्था पत्ता लगाउन हरेक १५ गते परिक्षण गरिने अभियाननै सञ्चालन गरिएको बताउनुभयो ।