ढवाहा ताल तथा उद्यानमा निर्मित प्रवेशद्वार, गोलघर तथा शौचालयको समुद्घाटन

२०७९ श्रावण १५ आइतबार १८:४०:०० मा प्रकाशित

गैँडाकोट । उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा गुरुयोजना अनुसार विकास हुँदै गरेको ढवाहा ताल तथा उद्यानमा निर्मित प्रवेशद्वार, गोलघर तथा शौचालयको समुद्घाटन गरिएको छ । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ८ र ९ ले पूर्व पश्चिम राजमार्गदेखी ८ सय मिटर उत्तरतर्फ ढवाहा ताल तथा उद्यान निर्माण गरिरहेको छ । ११ करोड ६५ लाख ११ हजार ४ सय ८७ रुपैयाँको विस्तृत परियोजनाको डिपिआर तयार गरी काम अघि सारिएको छ ।  
ढवाहा ताल तथा उद्यान निर्माणका लागि हाल सम्म १ करोड ५२ लाख १ हजार १ सय ५९ रुपैयाँ खर्च भएको छ । यसमा अनुदान रकम १ करोड ४ लाख २४ हजार १ सय र समूहको तर्फबाट ४७ लाख ७७ हजार ५८ रुपैयाँ खर्च भएको नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बालकृष्ण गौडेलले बताउनुभयो ।  
विस्तृत परियोजना डिपिआर अनुसार लक्षित रकमको १० प्रतिशत मात्र खर्च र सोही अनुरुपका काम भएका छन् । अझै निर्माणका कामहरु बाँकी रहेको उहाँले बताउनुभयो । 
ढवाहा ताल तथा उद्यान निर्माणका लागि गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ मा गरी १५ लाख ६० हजार ३ सय ६८ रुपैयाँ, डिभिजन वन कार्यलय नवलपुरले आर्थिक वर्ष ०७५/०७६ मा ४ लाख ७७ हजार ७ सय ६० रुपैयाँ दिएका थिए । 
त्यस्तै भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीले आर्थिक वर्ष ०७५/०७६ मा ३७ लाख ६१ हजार १ सय ९८ रुपैयाँ, ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेश पोखराले आर्थिक वर्ष ०७७/०७८ र ०७८/०७९ गरी १३ लाख ३३ हजार ६० रुपैयाँ, डब्लु डब्लु एफ र सहमती संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा ९ लाख ९२ हजार ५ रुपैयाँ प्रदान गरेका थिए । 
उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन कार्यालय, गण्डकी प्रदेश पोखराले आर्थिक वर्ष ०७८/०७९ मा २२ लाख ९९ हजार ७ सय ९ रुपैयाँ दिएको थियो । त्यस्तै समूहबाट आन्तरिक लगानी हालसम्म ४७ लाख ७७ हजार ५८ रुपैयाँ खर्च भएको आईतबार प्रवेशद्वार, गोलघर तथा शौचालयको समुद्घाटन कार्यक्रममा जनाईएको छ ।
ढवाहा ताल तथा उद्यानको तल्लो भागमा आंशिक कंक्रिट सहित पर्खाल निर्माण, तालको बीच भागको माटो व्यवस्थापन, पहिलो र दोश्रो खण्डको २४ र ३० मिटर टेवा पर्खाल, पानी ओभरफ्लो, टेवा पर्खाल ८ मिटर, गेट भल्व खरिद तथा जडान, १७ मिटर टेवा पर्खाल, प्रवेश गेट, प्रतिक्षालय (गोलघर), पदमार्ग, शौचालय साथै टेवा पर्खाल १ सय २१ मिटर र कंक्रीट पर्खाल लगायतका कामहरु पुरा भएको छ । 
प्रवेशद्वार, गोलघर र शौचालयको उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ती कोइरालाले वन जङ्गल हाम्रो सम्पत्ति रहेको र यसलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले जङ्गलमा रहेका वन्यजन्तुहरुलाई कुनै पनि हानी नहुने तरिकाले वनमा संरचनाहरु निर्माण गर्न आग्रह गर्नुभयो । साथै पर्यावरणको संरक्षण र विकासका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।   
कार्यक्रममा सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले अधिकांश मानिसलाई गैँडाकोटमा ढवाहा ताल बनेको विषयमा जानकारी नै नभएको बताउँदै यसको प्रचारप्रसारमा जोड दिनुभयो । साथै गुरुङले जङ्गलमा कंक्रिटका संरचनाहरु निर्माण गर्दा वन्यजन्तुहरुको सुरक्षाको हितमा बनाउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा वडा सदस्यहरु द्रोण वन, तर्कबहादुर थापा, सहमतिको सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्य योजना कार्यक्रमका सामुदायिक सहजकर्ता क्षितिज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वनका कोषाध्यक्ष बेलप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव कमला शर्माले सहजिकरण गर्नुभएको थियो । 
२०५१ सालदेखी संरक्षण प्रारम्भ गरिएको वन ४४४.८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पानी र सिमसार जीवनको अभिन्न आधार भन्ने उद्देश्यले २०७२ सालदेखी संरक्षण प्रारम्भ गरिएको यस ताल तथा उद्यानबाट सिंचाई, जैविक विविधता संरक्षण, बन्यजन्तुलाई सहज खानेपानीको व्यवस्था, आकस्मिक खानेपानी लगायतको व्यवस्थापनन गरिने र यसबाट १४ सय ३५ घरधुरी लाभन्वित हुने वनका कार्यालय सचिव लिला पौडेलले जानकारी दिनुभयो ।