भगवान् विष्णुको जन्म जयन्ती, वराह जयन्ती

२०७९ श्रावण १५ आइतबार ०६:०४:०० मा प्रकाशित

गैँडाकोट । वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।

सत्ययुगमा भगवान् विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता सैतानको विनाश गरेको उल्लेख गरिएको छ ।

ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्धार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतङ्क दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान् ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान् विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान् ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान् विष्णुको अवतारको रूपमा स्वीकार गरे ।

त्यस बेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रसन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दाँतमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुसी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान् विष्णुको वराह अवतारलाई युद्धका लागि लल्कारे । त्यसपछि भगवान् विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।

वराह अवतार भन्दाअघि भगवान् विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाइ हिरण्य कश्यपलाई भने भगवान् विष्णुले चौथौँ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।

वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ ।