गैँडाकोटका पाँच विद्यालयले बुझाएनन् पुस्तक खरिदको प्रमाण

२०७९ श्रावण १२ बिहीबार १५:१२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटका ५ विद्यालयले पुस्तक खरिद गरेको बीजक र पुस्तकालयमा दाखिला गरेको प्रमाण पेश नगरेको पाईएको छ । गैँडाकोटका जनक मावि, कालिका मावि, रत्नराज्य मावि, जनता मावि र लक्ष्मी माविले पुस्तक खरिद गरेको बीजक र पुस्तकालयमा दाखिला गरेको प्रमाण पेश नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पुस्तकालयमा आधारित पुस्तक खरिदका लागि ५० हजारका दरले साढे २ लाख रकम निकासा गरेपनि सो सम्बन्धी बिल तथा आवश्यक प्रमाण पेश नगरेका हुन् । दाखिला फारम मात्र पेश गरेको जनाईएको छ ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक वर्ष २०७७/७८ को पुस्तकालयमा आधारित पुस्तक खरिद कार्यक्रमको २ लाख ५० हजार रुपैयाँ बेरुजु देखाएको छ । सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागी पुस्तकालयबाट नै पाठ्यपुस्तक ल्याउने लैजाने गरी व्यवस्थापन गर्न संघीय सरकारले यो कार्यक्रम तय गरेको थियो । पाठयक्रम विकास केन्द्रले स्वीकृत गरी सार्वजनिक गरेको सन्दर्भ सूची भन्दा बाहिरका पुस्तक÷पत्रपत्रिका खरिद गर्न नपाईने उल्लेख छ ।

लेखापरीक्षणमा भनिएको छ– “पुस्तकालयमा आधारित पुस्तक खरिद : कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व. २०७७/७८ को २.४.६.१ अनुसार सामुदायीक माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागी पुस्तकालयबाट नै पाठ्यपुस्तक ल्याउने लैजाने गरी व्यवस्थापन गर्न प्रति विद्यालय वार्षिक रु. ५०,०००.०० का दरले एकमुष्ठ अनुदान उपलब्ध गराउने र पाठयक्रम विकास केन्द्रले स्वीकृत गरी सार्वजनिक गरेको सन्दर्भ सूची भन्दा बाहिरका पुस्तक/पत्रपत्रिका खरिद गर्न नपाईने उल्लेख छ । जनक मावि, कालिका मावि, रत्नराज्य मावि, जनता मावि र लक्ष्मी मावि गरी ५ विद्यालयलाई पाठ्यपुस्तक खरिदको लागी रु ५०,०००.०० का दरले जम्मा रु.२,५०,०००.०० निकासा गरिएको छ । पुस्तक खरिद गरेको बीजक र पुस्तकालयमा दाखिला गरेको प्रमाण पेश भएको छैन । दाखिला फारम मात्र पेश भएको छ । विद्यालयले पाठयक्रम विकास केन्द्रले स्वीकृत गरी सार्वजनिक गरेको सन्दर्भ सूची भित्रका पुस्तक/पत्रपत्रिका खरिद गरेको र पुस्तकालयमा दाखिला गरिनुपर्दछ ।”

गैँडाकोटका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले यस सम्बन्धमा अनुगमन गरिने बताउनुभएको छ । उहाँले तोकिएको शिर्षकमा खर्च भए/नभएको विषयमा सोधपुछ गरिने बताउनुभयो । विद्यालयमा काम भएको भए दाखिला नगरेको विषयमा खोजिने उहाँले बताउनुभयो । कार्यक्रम गर्दा त्रुटिरहित बनाउने प्रयास गरिने बताउँदै उहाँले सुधार गर्ने ठोस योजना बनाउने बताउनुभयो ।