महालेखापरीक्षकले औँल्याएका गैँडाकोटका मुख्य त्रुटि

२०७९ श्रावण ७ शनिबार १५:४३:०० मा प्रकाशित

गैँडाकोट । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरणमा गैँडाकोट नगरपालिकाले गरेका त्रुटिलाई मुख्य चार बुँदामा उल्लेख गरेको छ । २०७८ असार ३१ मा समाप्त भएको आर्थिक वर्षको वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण हेरी कैफियत सहितको राय व्यक्त गरेको छ ।  

नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्णरुपमा प्रयोग गरी वित्तीय विवरण तयार नगरेको उल्लेख गरेको छ ।

त्यस्तै लेखापरीक्षणबाट रु. ५ करोड ४२ लाख ४४ हजार बेरुजु देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट रू. ३७ लाख ७७ हजार, फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने रू. १६ लाख ५३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ३ करोड ६१ लाख ५६ हजार, नियमित गर्नुपर्ने रू. १ करोड ९ लाख ८९ हजार र पेश्की रू. १६ लाख ६९ हजार रहेको छ । गतवर्ष रू. ४ करोड १५ लाख १८ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फस्र्यौट एवं यो वर्ष कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजु रू.९ करोड १९ लाख ८५ हजार रहेको छ ।

त्यस्तै नगरपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएको छ ।

आम्दानी तथा खर्चको स्रेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेश्की बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय गण्डकी प्रदेश पोखराले वित्तीय विवरण सारभूतरूपमा गलत आंकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको जनाएको छ । नगर कार्यपालिका, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन् । यो समयमा नगर कार्यपालिका अध्यक्षका रुपमा छत्रराज पौडेल, लेखा प्रमुख विष्णुप्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद भुसाल, यामप्रसाद सुवेदी र छविलाल सुवेदी रहेका थिए ।

महालेखापरीक्षकको कार्यालयले वित्तीय प्रतिवेदन समग्रमा जालसाजी व अन्य गल्ती समेतका कारण सारभूतरूपमा गलत आंकडा रहित होस् भनी उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्ने गरेको छ । सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरीसकेको छ ।