०७९–८० को मौद्रिक नीति, घरजग्गा धितोमा पाइने कर्जामा कडाइ 

२०७९ श्रावण ६ शुक्रबार १८:०४:०० मा प्रकाशित


नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४÷१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो । मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ ।

अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ । २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ । 
नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आर्थिक वर्ष २०७८÷०८० को मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो । नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो ।