सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

२०७९ असार २० सोमबार १३:०३:०० मा प्रकाशित

चितवन ।  भूमिहिनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे महानगर प्रमुख रेनु दाहालको चासो दिनु भएको छ ।
भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राख्नु भएको हो ।
आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरुलाई ब्रिफिङ गर्नुभएको थियो । आयोगका अध्यक्ष तिमल्सिनाले केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग पहल थालिएको जानकारी दिनुभयो । आयोगले अहिले ड्रोन र टोटल स्टेश्नको कमी भएको बताएको छ । यो यन्त्र उपकरण खरिद गर्न आयोगले जिल्लाका ७ वटा स्थानीय निकायसँग बजेटको माग पनि गरेको छ ।  
भरतपुर महानगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडि महानगरभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको  लगत संकलन, निस्सा दिने काम सम्पन्न गरिसकेको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले संघिय निर्वाचन अघि भूमिहिनलाई लालपुर्जा दिने गरी कार्य अघि बढाउन आयोग र वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
निर्वाचन आचारसंहिताका कारण यो काम केहीसम्म रोकिन पुगेकाले पहिले जुन गतिमा काम भएको थियो, त्यही गतिमा फेरि काम बढाउनु पर्ने मेयर दाहालको भनाई थियो ।
निर्वाचनले ब्रेक लागेको भए फेरि निरन्तरतामा गई तीब्र गतिमा जग्गा दिने काममा लाग्न मेयर दाहालले सरोकारावालाई अनुरोध गर्नुभयो ।
‘निर्वाचनमा तपाई हामीले भूमिहिनलाई जग्गा दिने प्रतिवद्धता जनाएका छौ, उहाँले भन्नुभयो,‘यो काममा हातेमालो गरेर सुकुम्बासीलाई जग्गा दिने काममा केन्द्रीत हुन आग्रह गर्छु । वडा अध्यक्षहरुले आयोगसँग समन्वय गरी आफ्नो बाचा पुरा गर्नुहोस् ।’
मेयर दाहालले विगतमा भरतपुर २ का भूमिहिन दलितलाई लालपुर्जा दिने काम भईसकेको र अब असार मसान्तभित्र भूमिहिन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने जानकारी दिनुभयो ।
पाँच वर्षभित्र भरतपुरमा अहिले लगत संकलन भएका सुकुम्बासीले लालपुर्जा पाउने पनि दाबी गर्नुभयो ।
भरतपुर महानगरले संकलन गरेको तथ्याङक अनुसार महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका  छन् ।