नगरसभामा बोले तीन जना सदस्य, विद्युतका समस्यादेखि विद्यालय खोल्नेसम्मका माग

२०७९ असार ८ बुधबार १७:३६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो सुझाब राख्दै गैँडाकोटका नगरसभा सदस्य द्रोणवन सन्यासीले गैँडाकोटले खानेपानीको लागि दीर्घकालिन योजना अघि बढाउन सुझाब दिनुभएको छ । गैँडाकोट १८ र बुलिङटारको बीचमा रहेको तरङ््गे खोलाको पानी गँैडाकोट ल्याउन दीर्घकालिन योजना बनाउन माग गर्नुभएको छ ।

नगरसभा सदस्य सन्यासीले गैँडाकोटमा रहेको विद्युतमा कम भोल्टेजको समस्या कम गर्न पहल गर्न आग्रह गर्नुभएको छ । कृषिमा प्रयाप्त बजेट र घाँस काट्ने मेसिनको सहज उपलब्धता जस्ता विषयको सन्यासीले नगर सभामा उठाउनुभएको छ । गैँडाकोट थुम्सीमा विजुलीको तार अघि नजिकै हुँदा स्थानीयको खतराको विषयलाई समेत नगरसभामा उठाउनुभएको छ । 


नगरसभा सदस्य शुशिला परियारले दलित समुदायका बालबच्चाको निशुल्क शिक्षाको माग गर्नुभएको छ । वडा सदस्य परियारले दलित समुदायका लागि विनियोजन हुने लक्षित वर्गको बजेटमा र कार्यक्रममा नगरले विशेष प्राथमिकता राख्नुपर्ने बताउनुभयो । यसका साथै उहाँले नगरमा गठित विभिन्न समितिहरुमा दलित समुदायबाट प्रतिनिधित्व नभएको भन्दै प्रतिनिधित्व गराउन माग गर्नुभएको छ । 

 


नगरसभा सदस्य ज्ञानप्रसाद खनालले गैँडाकोट ९ मा सामुदायिक विद्यालय नरहेको भन्दै प्रारम्भीक बालकक्षा सञ्चालनका लागि विद्यालयको आवश्यकता रहेको बताउनुभएको छ । गैँडाकोट ९ र ७ का स्थानीयले विभिन्न उद्योगबाट निस्कने प्रदुषणको मारम परेको भन्दै तत्काल समस्या समाधानका लागि माग गर्नुभएको छ । 


नगरसभा सदस्यले राखेको जिज्ञासाको जवाफ दिदैं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट ९ मा रहेको बिद्यालयको समस्यालाई योजना बनाएर काम गर्ने, गैँडाकोट ७ र ९ मा रहेको प्रदुषणको समस्या समाधान गर्न गोर्खा ब्रुअरीले पत्र काट्ने बताउनुभयो ।

साथै उहाँले खानेपानीको समस्या समाधानको लागि पनि योजना बनाएर अगाडी बढ्ने बताउनुभएको छ । लक्षित समुदायका लागि छुट्टाएको बजेटलाई बिभिन्न शीर्षक बनाएर राखिने पनि बताउनुभयो ।  नगर सभामा उपस्थित ३ जनाले मात्र आफ्नो धारणा राखेका थिए ।