गैँडाकोटको खर्च मात्र ५६ प्रतिशत

२०७९ असार ७ मंगलबार १२:४७:०० मा प्रकाशित

गैँडाकोट । चालु आर्थिक वर्षका लागि गैँडाकोटमा विनियोजित रकम मध्ये यस अवधिमा मात्र ५६ प्रतिशत खर्च भएको छ ।
असारको पहिलो सातासम्म मात्र ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि छुटिएको १ अर्ब ६ करोड २३ लाख ३२ हजार ६५ रुपैयाँ मध्ये असार २ गतेसम्म मात्र ५९ करोड, ४९ लाख, ७९ हजार ४ सय ४७ रुपैयाँ खर्च भएको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो । आर्थिक वर्ष सकिन मात्र २५ दिन बाँकी छ । २५ गते उप्रान्त कुनै भूक्तानी दिन पाईने छैन । असारदेखी नयाँ सम्झौता रोकिएको छ । सम्झौता भईसकेका योजनाहरुको रकम भूक्तानी गर्न बाँकी रहेको छ ।
यो हेर्दा ठूलो रकम फ्रिज हुने देखिन्छ । आउँदो आर्थिक वर्षका लागि वडागत योजना तर्जुमा गर्दैगर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले अब आगामी वर्ष त्यो रकम खर्च गर्न नमिल्ने बताउनुभएको छ ।
नगरपालिकाले स्वतः सार्वजनिक गरेको आय व्यय विवरणमा चालु खर्च ६२.०४ प्रतिशत र पूँजीगत खर्च ४८.१३ प्रतिशत रहेको छ । नगरका कतिपय योजनाहरु सञ्चालनमा नै रहेका र केही योजना सम्पन्न भइसकेको अवस्थामा भुक्तानीको प्रक्रियामा रहेकोले यो बढ्ने जनाईएको छ ।  
नगरपालिकामा १ अर्ब २ करोड १७ लाख ७३ हजार ६ सय १८ रुपैयाँ वास्तविक आय रहेको छ । चालु आर्थिक वर्षको यस अवधिसम्म ७ वटा शिर्षकमा खर्च शून्य रहेको छ ।