बोल्ने कला सिकाउँदै देउराली वन

२०७९ असार २ बिहीबार १८:०४:०० मा प्रकाशित


गैँडाकोट । देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ३ को आयोजनामा आजदेखी ५ दिने उद्घोषण तालिम सुरु भएको छ । समूहको सभाहल ढोडेनीमा कार्यक्षेत्रका महिलाहरुको बोल्ने कला एवं क्षमता विकासका लागि तालिमको आयोजना गरेको हो ।  
तालिमको उद्घाटन सत्रमा बोल्दै गैँडाकोट ३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता शिवकान्त तिवारीले वडाको बजेट तथा योजना छनौट गर्नेक्रममा रहेकाले आवश्यक माग पेश गर्न वडाबासीलाई आग्रह गर्नुभयो । नगर प्रवक्ताको भूमिकामा रहेकोले निर्वाचनपछि सामुहिकरुपमा वडाबासीसँग प्रत्यक्ष साक्षात्कार गर्न नपाएको बताउँदै उहाँले छिट्टै वडाबासीसँग सहकार्यगर्दै वडाको विकासमा हातेमालो गर्ने बताउनुभयो । उहाँले तालिमले महिलाको क्षमता विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
वडा सदस्य सुकमाया विकले चुप लागेर बसेकै कारण महिला दिदिबहिनीहरु पछि परेको बताउँदै अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । वनका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक धनबहादुर चितौरेले वनको संरक्षणसँगै सशक्तिकरणका कार्यक्रमले उपभोक्ता लाभान्वित भएको बताउनुभयो ।
देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मुक्मी मगरले सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान भन्ने मूल नाराका साथ वन संरक्षण, गरीब विपन्नको उत्थान, महिला सशक्तिकरण तथा जीविकोपार्जन लगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो ।  
वनका उपाध्यक्ष एकबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा वनका सचिव एवं महिला सशक्तिकरण उप समितिका संयोजक कृष्णमाया पोख्रेलले तालिम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।  
तालिममा नेपाल पत्रकार महासंघ नवलपुरका सह सचिव, विजय एफएम १०१.६ का स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्याय, विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीले प्रशिक्षण दिनुहुने छ ।
उद्घाटन सत्रमा वनका कोषाध्यक्ष कृष्णबहादुर विक, सहसचिव जितबहादुर गुरुङ, टोलविकास संस्थाका अध्यक्षहरु नरबहादुर थापा, रामबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो । तालिममा वडाका ४१ जना महिलाको सहभागिता रहेको छ । वनका कार्यालय सचिव बिजेश आलेले तालिम उद्घाटन सत्रको सहजिकरण गर्नुभएको थियो ।