देवीप्रसाद तिवारीको ‘स्वयंको खोजी’ 

२०७९ जेठ २८ शनिबार १७:३४:०० मा प्रकाशित

गैँडाकोट । लेखक देवीप्रसाद तिवारीको दार्शनिक काव्य ‘स्वयंको खोजी’ को गैँडाकोटमा विमोचन गरिएको छ । गैँडाकोट ६ निवासी तिवारीको पाँचौ कृति कविता पुस्तक ‘स्वयंको खोजी’ को शिवनगर खानेपानी संस्थाको सभाहलमा विमोचन गरिएको हो ।  
लेखक तिवारीले कार्यक्रममा कवितामा भएका कुरा बुझ्न सक्यो भने यसमा धेरै कुराको निचोड पाइने बताउनुभयो । साथै उहाँले अझै २ वटा कृति लेख्ने प्रतिज्ञा गर्नुभएको थियो । 
विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नारायणी च्याप्टरका अध्यक्ष एवं छन्द बद्ध कविता अभियान नेपालका अध्यक्ष लक्ष्मिकान्त शर्माले कविताको भाव बुझ्नका लागि कुनै पनि किसिमको चिन्तनहरु मन, मस्तिष्कमा नराख्न आग्रह गर्नुभयो । उहाँले ‘स्वयंको खोजी’ कृतिमा भौतिक चिन्तनका कुराहरु समेटेको भए अझ राम्रो हुने बताउँदै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । 
कृति विमोचन कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुरका सल्लाहकार गोबिन्दराज विनोदीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी, वरिष्ठ साहित्यकार सृजन लम्साल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
चर्चित छन्द कवि सुदेस सत्याल, गुराँस ठकुरी लगायतले कार्यक्रममा कविता वाचन गर्नुभएको थियो । कृति विमोचन कार्यक्रमको सहजिकरण त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुर, नेपालका संस्थापक सदस्य भूमिश्वर शर्माले गर्नुभएको थियो । 
त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुर, नेपालका कार्यबाहक अध्यक्ष ईन्द्रराज पौडेलले त्रिवेणी साहित्य प्रतिष्ठान स्थापना भएदेखी नयाँ संस्थाहरुलाई प्रोत्साहन र स्थापित संस्थाहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले यस संस्थाले सहित्यिक, कला र संगीत तीन वटै क्षेत्रमा सक्दो योगदान दिदै आएको बताउनुभयो । उहाँले त्रिवेणी साहित्य प्रतिष्ठानलाई ‘स्वयंको खोजी’ नामक दार्शनिक काव्यको कृति प्रकाशनमा गर्न लगाएकोमा आभार व्यक्त गर्नुभएको थियो ।