मीना स्मृति प्रतिष्ठानद्वारा मन्दिर, पार्क र चौतारीको शिलान्यास

२०७८ चैत २८ सोमबार २०:००:०० मा प्रकाशित

भरतपुर । मीना स्मृति प्रतिष्ठान नेपालले भरतपुर १ रामनगरमा धौराली देवी मन्दिरको शिलान्यास, लखन पार्कमा मिना स्मृति चौतारी शिलान्यास एवं पुष्प बाटिकामा मोक्षदाता गणेश मन्दिरको शिलान्यास गरेको छ ।  
स्वर्गीय मीना महतको स्मृतिमा वार्षिक तिथिको अवसर पारेर सोमबार मन्दिर र चौतारीको शिलान्यास गरिएको मिना स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष एवं पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए । उनले जीवनसंगिनी भौतिक रुपमा नरहेपनि मन्दिर, पार्क र चौतारीको रुपमा सधैँ आफुसँगै हुने बताए । सधैभरि चैतन्य रुपमा देख्नका लागि निर्माण प्रक्रिया थालेको उनको भनाई छ ।
कार्यक्रममा हरिहर सन्न्यास आश्रम एवं श्री परमानन्द संस्कृत गुरुकुल विद्यापिठ देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले जीवन नाश्वर भएकाले राष्ट्र र समाजका लागि अमर हुने काम गर्नुपर्ने बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, प्रहरी प्रमुख एवं प्रतिनिधि, विभिन्न स्थानमा भएका कार्यक्रममा धौराली देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन श्रेष्ठ, लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर भण्डारी, पुष्पबाटिका संरक्षण समितिका अध्यक्ष कमला लामिछाने, महत परिवारका ज्येष्ठ सदस्य प्राध्यापक डा. तेजबहादुर सिंह महत, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, सचिव सुरेन्द्र रेग्मी, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कालिका संस्कृत विद्यापिठका सहप्राध्यापक डा. रामचन्द्र कँडेलले स्वर्गीय मीना महतको जीवनीबारे जानकारी गराएका थिए । वि.सं. २०११ साल साउन २९ गते जन्मिएकी सामाजिक कार्यमा अग्रसर मीना महतको वि.सं. २०७७ चैत २८ गते निधन भएको थियो । उनको दिर्घरोगका कारण निधन भएको थियो । नेपाली सेना अन्तर्गत हेलिकप्टर सेवामा फ्लाइट अपरेसन अधिकृतका रुपमा २५ बर्ष काम गरेकी थिइन् । उनले प्रहरी परिवार महिला संघ पश्चिमाञ्चलको अध्यक्षको भूमिका समेत निर्वाह गरेकी थिईन् । पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्र बिक्रम महतलाई सामाजिक, धार्मिक, अध्यात्मिकक्षेत्रमा उतार्न उनको जीवन संगिनी मीनाको ठुलो हात रहेको जनाकारहरु बताउँछन् ।