श्री हनुमान मन्दिरमा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव सुरु 

२०७८ चैत २७ आइतबार १६:०७:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटन÷लोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ आजबाट सुरु भएको छ । महोत्सव वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म संचालन हुने छ । 


श्री हरिहर सन्न्यास आश्रम परमानन्द–संस्कृत गुरुकुलम्, देवघाटधामका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले महामहोत्सवको उद्घाटन गर्नुभएको छ । साथै आज मूर्तिप्राणप्रतिष्ठा पनि गरिएको छ । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै ज्ञानानन्द सरस्वतीजी महाराजले धार्मीक आस्थाले मानिसलाई सुख दिने बताउदै मठमन्दिरको निमार्ण र धर्म संस्कृको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । साथै उहाँले रामनवमीको महत्त्वको बिषयमा पनि प्रष्ट पार्नुभएको थियो । 

एक हप्तासम्म चल्ने उत्सवको आज पहिलो दिन शोभायात्रा, नवनिर्मित श्रीहनुमान मन्दिरको समुद्घाटन तथा दाताशिलापट अनावरण गरिएको छ । साथै भोली दोस्रो दिन जलाधिवास तथा श्रीचक्रघाटस्थित स्नानघाटको समुद्घाटन गरिने श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले बताउनुभयो । उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो । 


कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख बिष्णुकुमारी कंडेल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो । मन्दिरका सहसचिव पिताम्बर सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा मन्दिरका उपाध्यक्ष बालुराम कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।