सार्थक रुप पाउँदै गरेको प्रविधिमैत्रि तथा मर्यादित सहकारी व्यवसाय

२०७८ चैत १५ मंगलबार ११:००:०० मा प्रकाशित



६५ औं राष्ट्रिय सहकारी दिवसको लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । ६४ औं राष्ट्रिय सहकारी दिवस कै नारालाई यस वर्ष पनि निरन्तरता दिईएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिनुभएको छ । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम महासंघले गर्दै आएको छ । गत ६४ औं राष्ट्रिय सहकारी दिवसको नाराले सार्थक रुप पाउँदै गरेको महसुस भएसँगै यस वर्ष पनि सोहि नारा नै राखिएको देखिन्छ । धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत प्रवेश गरेका छन् । नेपाल सरकारले पनि सहकारीलाई प्रविधिमा जान नीतिगत व्यवस्थाको शुरुवात गरीसकेको छ ।
विश्वव्यापी रूपमा नै सहकारी अभियान र यसमा आबद्ध भएका सदस्यका हिसाबले, यसले उपलब्ध गराई राखेको रोजगारीका हिसाबले र कारोबार रकमका हिसाबले अन्य कुनै पनि सङ्गठन भन्दा ठुलो र व्यापक रहेको छ । पुँजीवादी अर्थव्यवस्था अवलम्बन गर्ने राष्ट्रदेखि समाजवादी अर्थव्यवस्था अवलम्बन गर्ने राष्ट्रसम्म प्रायः सबैले सहकारितालाई कुनै न कुनै रूपमा अङ्गीकार गरेको पाइन्छ । यत्रो व्यापक सदस्य सञ्जाल र कार्यक्षेत्र भएको सहकारीलाई बेवास्ता गरेर अहिले कुनै पनि आर्थिक र सामाजिक सवालहरू सफलता पूर्वक अगाडी बढाउन सक्ने अवस्था छैन ।
अहिले विश्वव्यापी लहरका रूपमा देखिएको आर्थिक उदारीकरणका माध्यमबाट आर्थिक विकासको गति अगाडी बढेता पानी त्यही अनुपातमा रोजगारी सृजना हुन सकेन, गरिबीको अवस्थामा आशातित् सुधार हुन सकेन सम्पन्न र विपन्न नागरिकका बिचको खाडल अझ व्यापक र फराकिलो हुँदै गयो ।
केही नव धनाढ्यहरूको उदय भए तापनि साधना र स्रोत माथि निश्चित बर्गको पहँुच स्थापित हुन जाँदा भौतिक विकास मात्र भएन यसले पर्यावरणीय समस्याको समेत सृजना गर्न पुग्यो । यसै परिप्रेक्ष्यमा समानुपातिक आर्थिक विकासको आवश्यकता महसुस गरी त्यसलाई अगाडी बढाउनका लागि सहकारी पद्धति बढी उपयोगी हुने कुरामा विश्वका धेरै अर्थशास्त्रीहरू र योजनाबिद्हरुले महसुस गरी सोही अनुरूपका योजना र आर्थिक विकासका मोडेलहरूको प्रतिपादन गरेका छन् र सार्वजनिक, निजि, सहकारी साझेदारी मोडेल त्यसै मध्यको एक हो ।
नेपालमा सहकारीको बर्तमान अबस्था
परापूर्वकाल देखिनै सहकारिताको भावना विकसित हुँदै आइरहेको नेपालमा ढुकुटी, पर्म धर्म भकारी गुठी आदि लगायत विभिन्न नाममा सहकारिताको अनौपचारिक अभ्यास हुँदै आएको पाइन्छ । तथापि आधुनिक सहकारी अभियानको शुभारम्भ भने वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकाशको थालनी भएको पाईन्छ । तात्कालिन नेपाल सरकारले २०१३ सालमा सहकारी गठन, दर्ता र संचालन आदेश जारी गरेको र सोही कानूनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई संचालन भएको थियो । वि.सं. २०१६ सालमा सहकारी ऐन २०१६ तर्जुमा भई सहकारीको स्थापना र संचालन सम्बन्धी नियम तर्जुमा भएको थियो । तत्कालिन राजनैतिक अस्थिरताको कारण सोचे अनुरुप सहकारीको संस्थागत विकास हुन सकेन । पछि २०४१ सालमा आएर सहकारी ऐन २०१६ खारेज गरी साझा संस्था ऐन २०४१ जारी गरियो । जस अनुरुप कम्तिमा १५ जना सदस्य भएको औधोगिक साझा संस्था र कम्तिमा २५ जना सदस्य भएको अन्य साझा संस्था गठन गर्न सकिने व्यवस्था थियो भने ५ वटा संस्थाहरु सदस्य भएको जिल्ला साझा संघ र कम्तिमा १५ वटा जिल्ला साझा संघहरु सदस्य भएको राष्ट्रिय साझा संघ गठन गर्न सकिने प्रावधान थियो । साझा संस्था ऐन २०४१ लाई खारेज गरी वि. संं. २०४९ साल जेष्ठ २ गते सहकारी ऐन २०४८ जारी गरियो जुन ऐन वर्तमान अवस्थामा सहकारीको संस्थागत विकास गर्न क्रियाशील रहि आएको छ । हाल सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७४ जारि भएको छ । सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अनुशरण गर्दै देशभर बचत तथा ऋण र अन्य गरी करीब ३२ हजार ६ सय ६३ सहकारी संस्था खुलेका छन् । जसले ५७ हजार ८ सय ९४ जनालाई रोजगार दिलाएको छ । यिनिहरुले अर्थतन्त्रमा खर्बौको रकम परिचालन गरिरहेका छन् । यसरी थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै थोरै बचत संकलन बाट वृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो टार्न सहकारी राम्रो माध्यम बनेको छ । जसको परिणाम स्वरूप सहकारी संस्थाको विकास क्रमले ऐतिहासिक फड्को मार्न पुग्यो र सहकारी संस्थाहरू खोल्ने क्रम बढ्दै जाँदा २०७४ आषाढ मसान्तसम्म यो सङ्ख्या ३४ हजार ५ सय १२ हुन पुग्यो ।
पछिल्लो पटक सहकारी विभागले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपालमा जम्मा सहकारीको सख्या २९ हजार ८ सय ८६ रहेको छ भने यी संस्थाहरूमा जम्मा सदस्य सङ्ख्या ७३ लाख ७ हजार ४६२ रहेका छन् । सहकारीका सदस्यमा ५६ प्रतिशत महिलाको उपस्थितिले महिलाको प्रतिनिधित्व उत्साहप्रद रहेको देखाउँछ । समग्र सहकारी संस्थाहरूले ८८ हजार ३०९ जना व्यक्तिहरूलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको कुरा तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यसै गरी सहकारी संस्थाहरूको जम्मा शेयर पुँजी रु. ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३, जम्मा निक्षेप सङ्कलन रु. ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ र जम्मा ऋण लगानी रु. ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३८१ रहेको छ । सहकारी ऐन, २०७४ अनुसार सहकारी संघ संस्थालाई कार्यक्षेत्रको आधारमा विभाजन गरिए बमोजिम संघीय सहकारी विभाग अन्तर्गत १२५ वटा, प्रादेशिक सहकारी विभाग अन्तर्गत ६ हजार २ वटा र स्थानीय सहकारी अन्तर्गत २३ हजार ७५९ वटा सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् ।
राष्ट्रिय सहकारी नीति
नेपालको पहिलो सहकारीको रूपमा बखानपुर ऋण सहकारीको स्थापना भएको दिनको स्मरण स्वरूप हरेक वर्षको चैत्र २० गतेलाई राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउने प्रचलन रहँदै आएको छ । राष्ट्रिय सहकारी दिवसका माध्यमबाट समस्त सहकारीकर्मीहरुलाई ऐक्यबद्ध हुन, आम जनसमुदायमा सहकारीका बारेमा जनचेतना अभिवृद्धि गराउन र सरोकारवाला निकाय तथा राज्यलाई सहकारीको महत्त्व तथा उपादेयताको बारेमा थप जानकारी गराउँदै अझ बढी जिम्मेवार ढङ्गले अगाडी बढ्नका लागि सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले हरेक वर्षका लागि सहकारी दिवसको छुट्टै नारा चयन गर्ने र त्यसैको आधारमा राष्ट्रिय सहकारी दिवस मनाउने परम्परा रहेको छ । जस अनुरूप यस वर्ष पनि गत बर्ष ६४ औँ राष्ट्रिय सहकारी दिवसको नारा नै ६५ औँ राष्ट्रिय सहकारी दिवसमा पनि ‘मर्यादित व्यवसाय र प्रबिधीमा सहकारी’ भन्ने रहेको छ ।
गत २ वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन र यात्रा प्रतिबन्ध लगायतका निषेधाज्ञाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । कोरोना सङ्क्रमणको प्रभाव न्यूनीकरण भइरहेको सन्दर्भमा अझै पनि सिङ्गो मानव समुदाय देखि अर्थतन्त्र त्रसित बनिराखेको अवस्था छ ।
हरेक विपत्ति सँगै अवसर आए जस्तै यो कोरोना महामारीले पनि सहकारी क्षेत्रलाई डिजिटलाईज्ड गराउन अभिप्रेरित गरेको र सम्बन्धित सबैले सहकारी क्षेत्रलाई डिजिटलाईज्ड गराउनका लागि आवश्यक पहलकदमी लिन जरुरी भइरहेको सन्दर्भमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा भित्र प्रविधि शब्द प्रयोग गरिएको कुरा सान्दर्भिक नै देखिन्छ । तथापि बाँकी कुराहरू भने यसको कार्यान्वयन पक्षमा निर्भर गर्दछ ।
नारा तय गर्दा सहकारीको अवस्था, सरकारको सहकारी क्षेत्रप्रतिको अपेक्षा र दृष्टिकोण, अन्तर्राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा तय गरेको नाराको भावना समेतलाई आधार मान्नु पर्दछ । यस पटक र विगतमा राष्ट्रिय सहकारी महासंघले तय गरेको नारालाई विश्लेषण गरेर हेर्ने हो भने ती सबै नाराहरू तत्कालका लागि आकर्षक जस्तो देखिए तापनि त्यसको कार्यान्वयन पक्षलाई पनि विश्लेषण गर्नु जरुरी छ । राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा महासंघले ल्याएको नाराको सान्दर्भिकता पुष्टि गर्न, त्यसलाई सफलता पूर्वक कार्यान्वयन गर्न र सहकारी क्षेत्रलाई संविधानले परिकल्पना गरे अनुरूप अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा सबल र सक्षम बनाउनका लागि निम्नलिखित कार्यहरू गर्नुपर्ने देखिन्छ ।
१. प्रत्येक सहकारी संघ र संस्थाले आफ्नो वार्षिक योजनामा सदस्य सेवाका अतिरिक्त समाजमा योगदान दिन सक्ने क्षेत्रहरू पहिचान गरी त्यसलाईसोही अनुरूपको कार्य योजना बनाई कार्यान्वयन गर्ने ।
२. प्रत्येक सहकारी संघ संस्थाले आफूमा सुशासन र पारदर्शिता कायम राख्दै जोखिम रहित ढङ्गले व्यवसाय विविधीकरण र नयाँ प्रविधिको प्रयोग मार्फत सदस्यलाई बढी भन्दा बढी सेवा र सुविधा दिन केन्द्रित हुने ।
३. संघहरूले आफू अन्तर्गतका प्रारम्भिक संस्थाले गरे जस्तै कारोबार नगरी सहकारी संस्था र सदस्यको हितको प्रवद्र्धन, व्यवस्थापकीय क्षमता अभिवृद्धि, शिक्षा र तालिम प्रदान, तथ्याङ्क व्यवस्थापन, सेवा बिस्तार, जोखिम न्यूनीकरण तथा सहकारी क्षेत्रको गुणात्मक विकास गर्ने कुरामा भूमिका निर्वाह गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरूमा सहकारीलाई समेत साझेदार बनाउन पहलकदमी लिने ।
४. सहकारी सामाजिक उधमशिलाताको विशिष्ट नमुना भएकोले यसलाई अझै बढी जवाफदेही र उत्तरदायी बनाउँदै राज्यले समुदायका लागि उपलब्ध गराउने रकम समेत सहकारी मार्फत परिचालन गर्ने व्यवस्था मिलाउन पहलकदमी गर्ने ।
५. सहकारी मार्फत गाउँको उत्पादन सहरमा र सहरको पैसा गाउँमा पु¥याउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने ।
६. उपयोगमा आउन नसकेको अथवा स–साना टुक्रामा खण्डित भएको जग्गालाई सहकारी मार्फत एकीकरण (चक्लाबंदी) गरी त्यसमा व्यावसायिक ढङ्गले नमुना कृषि परियोजनाहरू सञ्चालन गर्ने ।
७. सहकारीलाई प्रविधिमा जोड्नका लागि तदनुरूपको योजना र कार्यविधि निर्माण गरी स्थानीय तह तथा प्रदेश र संघीय सरकारलाई घचघच्याउने ।
माथि उल्लेखित कुराहरुका अतिरिक्त राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानमा अभिवृद्धि गर्दै सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक बलियो खम्बाको रूपमा स्थापित गरी विधि र प्रविधिमा आधारित जोखिम रहित सहकारी अभियानको विकासका आवश्यक पहलकदमी लिनु पर्दछ । त्यसै गरी सहकारीहरूमा देखिने समस्या र जोखिमलाई निरुत्साहित गर्दै सहकारीलाई गुणात्मक ढङ्गले विकास गर्न जरुरी छ ।
अन्त्यमा, सहकारी संघ संस्थाहरुको व्यवस्थापन पक्षमा विशेष ध्यान दिँदै जनतामा सहकारिताको भावनामा अभिवृद्धि गर्ने र सहकारीलाई सदस्यको भरोसाको केन्द्रको रूपमा विकास गर्ने दिशामा सरोकारवाला सबै पक्ष गम्भिरता पुर्बक लाग्नु जरुरी छ ।
स्रोत ः सहकारी र यसको विकासक्रम (गोविन्द सुवेदी)
          सहकारीखबर डटकम