नवलपुरमा कोभीड संक्रमण तीव्र रुपमा फैलिदै, आज मात्रै ७१ जना संक्रमित थप

२०७८ पौष ३० शुक्रबार २०:०१:०० मा प्रकाशित



 
नवलपुर । नवलपुरमा चारदिन यता कोभीड संक्रमितको सख्ंया बढ्दै गएको छ । नवलपुरमा आज मात्रै ७१ जना संक्रमित थप भएका छन् । जिल्लामा चारदिन यता पौष २७ गते १९ जना, पौष २८ गते १८ जना, पौष २९ गते ३३ जना र आज ७१ जना संक्रमित थप भएका छन् । गत पौष २७ गते जिल्लामा सक्रिय संक्रमितको सख्ंया ४६ रहेको थियो भने आजको स्वास्थ्य कार्यालय नवलपुरको रिपोर्ट अनुसार सक्रिय संक्रमितको सख्ंया १ सय ६३ जना पुगेका छन् ।

आज कावासोतीमा ३८ जना, मध्यविन्दुमा १७ जना, विनयी त्रिवेणीमा ७ जना, गैँडाकोटमा ६ जना संक्रमित थप भएका छन् । शुक्रबारसम्म जिल्ला भित्र सबैभन्दा बढी संक्रमित कावसोतीमा ८३ जना रहेका छन् ।

नवलपुरमा अहिलेसम्म कोरोनाबाट १ सय ७३ जनाले ज्यान गुमाएका छन् भने यस वर्ष मात्रै कोभिडबाट १ सय ४१ जनाले ज्यान गुमाउनु परेको छ । कुल संक्रमित ११ हजार १ सय १० मध्ये ८ हजार ३ सय ९५ जना निको भइसकेका छन् । आज मात्रै जिल्लामा २ जना कोभिड १९ बाट मुक्त भएका छन् । जिल्लामा अहिलेसम्म २४ हजार ४ सय ४ जनामा एण्टिजेन र पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।